एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरको वार्षिक साधारण सभा २०८२ भव्यताका साथ सम्पन्न भएको छ। ललितपुरको लाकुरी भञ्ज्याङस्थित Treebones Resort मा चैत्र २० र २१ गते आयोजित दुई दिने विशेष कार्यक्रमले संस्थाको आगामी कार्यदिशा तय गर्दै नयाँ उत्साह थपेको छ।
सभामा संस्थाका तर्फबाट प्रस्तुत गरिएका महत्वपूर्ण प्रतिवेदनहरूमाथि घनीभूत छलफल गरी सर्वसम्मतिले पारित गरियो। अध्यक्ष जी.वी. खड्काले वार्षिक प्रगति प्रतिवेदन, सचिव विक्रम थापाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रदिप थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपाध्यक्ष विजय कर्माचार्यले कुशलतापूर्वक गर्नुभएको थियो भने सहभागीहरूलाई के.वी. ङाखुसीले स्वागत मन्तव्यमार्फत हार्दिक स्वागत गर्नुभएको थियो।
साधारण सभामा सहभागी सदस्य विद्यालयका प्रिन्सिपलहरू देव भट्ट, कुमार थापा मगर, अनिस राई, शिवराम कोजु र सूर्य घिसिङले शिक्षाको वर्तमान अवस्था र ईप्सनको भूमिकाबारे आफ्ना महत्वपूर्ण धारणा राख्नुभयो। वक्ताहरूले ईप्सन र सदस्य विद्यालयहरू एकअर्काको परिपूरक हुनुपर्नेमा जोड दिँदै अबको शिक्षा समयसापेक्ष र संस्कारजन्य हुनुपर्ने कुरामा जोड दिनुभयो। उहाँहरूका अनुसार समाज परिवर्तनका लागि विद्यालयहरूले केवल किताबी ज्ञानमा मात्र सीमित नभई नैतिक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिनु आवश्यक छ।

वि.सं. २०५७ सालदेखि क्रियाशील ईप्सन भक्तपुरमा हाल ११ वटा सदस्य विद्यालयहरू आबद्ध छन्। यस संस्थाले विगत लामो समयदेखि कक्षा १ देखि ७ सम्मको संयुक्त परीक्षा सञ्चालन, शिक्षकहरूका लागि क्षमता विकास तालिम, तथा विद्यार्थीहरूका लागि विभिन्न अतिरिक्त क्रियाकलाप र अभिमुखीकरण कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ। सदस्य विद्यालयहरूको संस्थागत विकास र शैक्षिक गुणस्तर सुधारमा ईप्सनले पुर्याउँदै आएको योगदान अतुलनीय रहेको छ।
प्राकृतिक वातावरणमा सम्पन्न यस साधारण सभाले सदस्य विद्यालयहरू बीचको आपसी एकतालाई थप मजबुत बनाएको छ। आगामी शैक्षिक सत्रमा अझ प्रभावकारी कार्यक्रमहरूका साथ अगाडि बढ्ने प्रतिबद्धता सहित सभा सफलतापूर्वक सम्पन्न भएको छ।