ताजा अपडेट

ट्रेन्डिङ

विनायककी ४ जि.पि.ए ल्याउने छात्रालाई नगद रु १ लाख पुरस्कार

Gyan Khabar

ज्ञानखबर

आइत, जेष्ठ १०, २०८३
244 पटक हेरिएको
विनायककी ४ जि.पि.ए ल्याउने छात्रालाई नगद रु १ लाख पुरस्कार

किताबी ज्ञान मात्र होइन, खेलकुद र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलकी छात्रा कृषा प्रजापतिले एस.ई.ई. २०८२ मा सर्वोत्कृष्ट नतिजा निकाल्दै विद्यालयको साख थप चम्काएकी छिन्।

४.० जीपीए हासिल गर्न सफल कृषालाई विद्यालयले नगद रु. १ लाख र सम्मान पत्रद्वारा पुरस्कृत गरेको छ। जेठ ९ गते विद्यालयमा आयोजित एक भव्य ‘बधाई तथा शुभकामना समारोह’ का बीच उनलाई यो सम्मान प्रदान गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त विशेष कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मध्यपुर ठिमी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष एवं अभिभावक श्रीकृष्ण श्रेष्ठ तथा नगरपालिका शिक्षा शाखा प्रमुख सुनेश अधिकारी उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै अतिथि वक्ताहरूले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापको क्षेत्रमा विनायक स्कुलले खेल्दै आएको अहम भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।

सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हार्दिक शब्दगुच्छासहित स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूको भविष्यका विषयमा पनि चर्चा गरिएको थियो। प्लस टु संयोजक तुलसी हरि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई विनायकमै कक्षा ११ र १२ अध्ययन गरी आफ्नो उत्कृष्ट नतिजाको विरासतलाई निरन्तरता दिन र उज्ज्वल भविष्य निर्माण गर्न सल्लाह दिनुभयो।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयको विक्रम सम्वत् २०५९ सालदेखिको उत्कृष्ट शैक्षिक सफलताको विवरण प्रस्तुत गर्दै सो सफलताका लागि अहोरात्र खट्ने शिक्षक शिक्षिका, अभिभावक विद्यार्थी एवं सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अझ उत्कृष्ट शैक्षिक गन्तव्यको गोरेटोमा विद्यालयलाई डाेहोर्‍याउने र गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने कुरा बताउनुभयो। कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले एस इ इ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए।