ताजा अपडेट

ट्रेन्डिङ

ब्रह्मायणी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन १२, २०७९
442 पटक हेरिएको
ब्रह्मायणी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिकाका वडा नं. ८ लिबालीस्थित श्री ब्रह्मायणी आधारभूत विद्यालयको ३१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका शैक्षिक संस्थाहरु अध्ययन गर्न विभिन्न नगर, महानगर र उपमहानगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरु आउने क्रम जारी रहेको बताउनुभयो ।

देशभर सामुदायिक विद्यालयप्रति अभिभावकहरुको आकर्षण घट्दै गइरहेको समयमा भक्तपुरका सामुदायिक विद्यालयले अब्बल रुपमा सामुदायिक शैक्षिक संस्थाहरु अगाडि बढाइरहेको छ भन्दै उहाँले भन्नुभयो, सामुदायिक विद्यालयको स्तर वृद्धि गर्न सकेनौं भने निजी विद्यालयले सामुदायिक विद्यालयलाई उछिन्नेछन् ।

असर, इमानदार र कर्तव्यनिष्ठ विद्यार्थी उत्पादन गर्नतर्फ विद्यालयले विशेष जोड दिनुपर्ने भन्दै उहाँले विकसित देशहरुमा जस्तै सामुदायिक विद्यालय विद्यार्थीहरुको पहिलो रोजाइको शैक्षिक संस्था हुनुपर्ने बताउनुभयो । भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन सुरु गर्दै आइरहेकोमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने योजनासाथ अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा ब्रह्मायणी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापतिले सामुदायिक विद्यालय कुनै निजी विद्यालयभन्दा कम छैन भन्ने भावनाले त्यहाँका शिक्षकहरुले आफ्ना विद्यार्थीलाई अध्यापनमा जोड दिए शैक्षिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

गरिब जनता पढ्ने विद्यालयहरुमा सरकारको ध्यान जान नसकेको र शिक्षामा राज्यले बहन गर्नुपर्ने दायित्य समेत बहन गर्न नसकेको यथार्थ प्रस्तुत गर्दै उहाँले विद्यार्थीलाई राम्रो कामको लागि हौसाला बढाउन सके उनीहरुमा उत्प्रेरणा जाग्ने बताउनुभयो ।

bramhayani school 1 1

कार्यक्रममा विद्यालयका प्रअ तारादेवी धन्छाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिहरु प्रयोग गरी सिकाइ उपलब्धी वृद्धि गर्ने, कक्षामा कमजोर विद्यार्थीहरुलाई विशेष जोड दिएर अगाडि बढ्ने, विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिंदै जानेलगायत विद्यालयको भावी योजनाहरु रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, पूर्व अध्यक्ष मोहनप्रसाद प्रजापति, सदस्य रामसुन्दर बासी, आधारभूत विद्यालय समितिका अध्यक्ष दिपक माक र शिक्षिकाद्वय इन्दिरा लाछिमस्यू र सुशिला प्रजापतिले पनि बोल्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा अन्य अतिथिहरुले विद्यालयका उत्कृष्ट विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई मेडल र पुस्कार वितरण गर्नुभएको थियो । उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ब्रह्मायणी आधारभूत विद्यालय स्मारिका २०७९ विमोचन गर्नुभएको थियो ।