भक्तपुर नगरपालिकाका वडा नं.४ राममन्दिरमा अवस्थित शान्ति निकेतन माविको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राज्यको पूर्ण दायित्वअन्तर्गत पर्ने शिक्षा जस्तो आधारभूत विषय व्यापारको रुपमा परिणत हुँदा कामदार वर्गका बालबालिकाहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालयका उत्कृष्ट शिक्षक निवर्तमान प्रअ महेन्द्रगोपाल कर्माचार्य र अवकाश प्राप्त शिक्षकहरुलाई दोसल्ला र सम्मान पत्रले अभिनन्दन गर्नुभएको थियो ।
सामुदायिक विद्यालयप्रतिको जनताको आकर्षण घट्दै गएर निजी विद्यालयतिर बढ्दै गएको सन्दर्भ जोड्दै उहाँले विद्यालयले विद्यार्थीहरुलाई पढेर पैसा कमाउने नभई शिक्षा र ज्ञान आर्जन गरी आफूले प्राप्त गरेको शिक्षा देश र समाजको निम्ति प्रयोग गर्न हौस्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शान्ति निकेतन माविका निवर्तमान प्रअ महेन्द्रगोपाल कर्माचार्यले पद भनेको जिम्मेवारीसँग जोडिएको विषय हो र आफ्नो काम र कर्तव्यप्रति न्याय गर्न सक्दा समाजबाट समेत राम्रो मूल्यांकन हुने आफ्नो अनुभव सुनाउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सके विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताउँदै भक्तपुर नपाले नगरबासीहरुलाई स्वस्थ स्फूर्त राख्न नगरका ठाउँमा—ठाउँमा निःशुल्क खुल्ला व्यायामशाला स्थापना गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रअ विजयराम प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिकूलताबीच अनुकूलता खोज्दै शान्ति निकेतनले विद्यार्थीहरुलाई प्राप्त स्रोतसाधन र जनशक्ति प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र हाल यस शैक्षिक वर्षमा यस विद्यालयमा ३७ जिल्लाका विद्यार्थीहरु अध्ययरत रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चवाल, शान्ति निकेतन पूर्व विद्यार्थी समाजका अध्यक्ष अच्युत प्रजापति, सहायक प्रअ इन्द्रकुमार साखलगायतले बोल्नुभएको थियो ।
वार्षिकोत्सवकै अवसर पारेर उक्त कार्यक्रममा चित्रकला प्रतियोगिताका विजेता, नारायणी शंकर मानन्धर शिक्षा पुरस्कार, वर्ष उत्कृष्ट विद्यार्थी सम्मान, किसमाया रणशंकर स्मृति पुरस्कार, रमा—मीना उत्कृष्ट शिक्षा पुरस्कारलगायत विभिन्न शीर्षकमा पुरस्कार वितरण गरिएको थियो ।