ताजा अपडेट

ट्रेन्डिङ

स्यानिटरी प्याड एटीएम – “मेरो साथी”

Gyan Khabar

ज्ञानखबर संवाददाता

१६ चैत २०७९, बिहिबार
313 पटक हेरिएको
स्यानिटरी प्याड एटीएम – “मेरो साथी”

चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका तीन विद्यार्थीले स्यानिटरी प्याड निकाल्ने मेशिनको आविस्कार गरेका छन् ।

‘मेरो साथी’ नाम दिइएको यो भेन्डिङ मेसिन उनीहरुले चार बर्षको खोज अनुसन्धानपछि आविस्कार गर्न सफल भएको तीन जनामध्येका एक इन्जिनियर राजु श्रेष्ठले बताए । अरु दुई जनामा सरोज चौधरी, अनिल तिरुवा छन् ।

नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्राली कम्पनी खडा गरी उनीहरुले लोकन्थलीमा आफूले मेशिन बनाएर बिक्री गर्दै आएका छन् । विगत सात महिनादेखि आफूहरुले मेसिन बिक्री गर्दै आएको श्रेष्ठले बताए ।

उनले साना तथा ठूला भेन्डिङ मेसिन बनाउँदै आएको बताए । हालसम्म २५ वटा मेसिन आविस्कार गरी बिक्री गरेको सुनाउँदै श्रेष्ठले कलेजले दिएको ५० हजार रुपियाँ लगानीबाट आफूहरुले मेसिन आविस्कारको काम सुरु गरेको सुनाए ।

श्रेष्ठले भने, ‘हालसम्म तीन प्रकारको मेसिन आविस्कार गरेका छौं । साधारण र सस्तो खालको ‘पुस बटम’ दबाउने मेसिनको १५ हजार पर्छ । आरएफ आईडी सिस्टमबाट चल्ने मेसिनको २५ हजार पाँच सय पर्छ । अर्को क्यूआर कोडबाट चल्ने मेसिनको ३५ हजार पर्छ । यो मेशिन पनि छिट्टै बजारमा आउँछ ।’

महिलाहरुका लागि महिनावारी हुँदा चाहिने स्यानिटरी प्याड निकाल्न ‘मेरो साथी, जहाँ पनि, जहिले पनि, स्लोगन बनाएर मेसिन देशैभरी पुर्याउने योजना रहेको उनले बताए । श्रेष्ठले सुरुमा मेसिन बनाउँदा कलेजको १५ जनाको समूहले केही सहयोग गरेको सुनाए ।

यस्ता मेशिन विद्यालय, कलेज, कार्यलय, होटल, रेष्टुरेन्ट जस्ता ठाउँमा राख्न सकेमा महिनावारी भएका महिलाको लागि सहज हुने बताउँदै इन्जिनियर श्रेष्ठले बजारमा पाइने अरु भेन्डिङ मेसिनभन्दा आफूहरुले आविस्कार गरेको मेशिन धेरै सस्तो र आधुनिक विशेषतासहितको रहेको बताए ।

प्याड सकिँदा मेशिनमा घन्टी बज्ने गर्छ । यसमा ६० वटासम्म प्याड अटाउने क्षमता रहेको छ । एक जना व्यक्तिले एक पटकमा एक पिसभन्दा धेरै मात्रामा प्याड निकालेमा मेमोरी कार्डमा रेकट बस्ने व्यवस्था पनि यसमा छ ।

राजधानीको कान्तिपुर सिटि कलेज र नेपाल इन्जिनियरिङ कलेज, राजधानी बाहिर विरगञ्ज, उदयपुर, बुटवल जस्ता स्थानमा मेशिन पुगिसकेको सुनाउँदै श्रेष्ठले जडान गरेको स्थानबाट कुनै समस्या नआएको बताए । यदि समस्या आएमा नयाँ मेशिन निःशुल्क जडान गर्ने उनले प्रतिवद्धता जनाए । श्रेष्ठको कम्पनीले उत्पादन गर्ने मेशिनमा एक बर्षको वारेन्टी पनि छ ।

उनले भने, ‘एउटा मेशिन बेच्दा तीन हजार फाइदा हुन्छ । हामीले नाफा कमाउने भन्दा पनि महिलाहरुलाई सहजता मिलोस भन्ने सोचले मेशिन आविस्कार गरेका हौं । सरकारले पनि शैक्षिक संस्थाहरुमा निःशुल्क स्यानिटरी प्याड वितरणको कुरा गर्दै आएको छ । सो कुरालाई कार्यान्वयन गर्न यो मेशिनको आविस्कारले सहयोग पुग्छ भन्ने हामीलाई लाग्छ ।’

भेन्डिङ मेसिनको व्यापार राम्रो हुँदै गएमा सौर्य उर्जा तथा ब्याट्रीबाट चल्ने मेशिन आविस्कार गर्ने आफूहरुको सोच रहेको श्रेष्ठले बताए । उनले बैशाखदेखि अनलाइन स्टोरबाट मेशिन बिक्री गर्ने र नयाँ मेशिन निर्माण गर्ने विद्यार्थीहरुलाई तालिम दिने योजना रहेको सुनाए । (Corporatenepal)