ताजा अपडेट

ट्रेन्डिङ

नेकमा व्यवसायीक सीप प्रयोगशाला पुनः स्थापना

Gyan Khabar

ज्ञानखबर संवाददाता

२१ चैत २०७९, मङ्गलबार
214 पटक हेरिएको
नेकमा व्यवसायीक सीप प्रयोगशाला पुनः स्थापना

इन्जिनियरिङ शिक्षामा स्नातक अध्ययन पुरा गरिसकेका प्राविधिकहरूमा व्यवसायीक सीपको कमि महसुस गरी पोखरा विश्वविद्यालयले केहि हप्ता अगाडि परिमार्जन गरेको पाठ्यक्रम अनुसार अब इन्जिनियरहरूले सिकर्मी, डकर्मी तथा प्लम्विङ्ग सम्बन्धी सीपमा दक्षता हासिल गर्नु पर्ने भएको छ।

यही उद्देश्य पूर्ति गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका-४ मा मुनाफारहित सामाजिक संस्थाको रूपमा भक्तपुर जिप्रकामा दर्ता गरी स्थापित तथा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा (नेक) एकै पटक २४ जना विद्यार्थीहरूले प्रयोग गर्न मिल्ने गरि नयाँ व्यबसायीक सिप प्रयोगशाला स्थापना गरिएको छ।

उक्त प्रयोगशालामा विद्यार्थीहरूले सिकर्मी, डकर्मी तथा प्लम्विङ्ग सम्बन्धी आधारभुत सीप सिक्ने छन्। भवन तथा आवासहरू निर्माण गर्दा झ्याल, ढोका तथा पाइपहरू जडान गर्नु पर्ने र जडान गर्दा तथा मर्मत संभार गर्दा व्यवहारिक रूपमा के कस्ता समस्याहरू आउन सक्छन् भन्ने जानकारी भएमा डिजाइन गर्दा नै समस्या नआउने गरी गर्न सकिने भएकोले यी सिपहरू इन्जिनियरहरूको लागि अति नै उपयोगी हुने कलेजको भनाई छ।

सीप तथा प्रविधि हस्तान्तरणको लागि कलेजले यस विषयमा झन्डै ५० वर्षको अनुभव प्राप्त शिक्षक श्री चिनिकाजि स्थापितलाई जिम्मा दिएको छ। प्रशिक्षक प्रशिक्षणको पहिलो चरणमा श्री चिनिकाजि स्थापितले कलेजका प्रशिक्षकहरू श्री सुशील श्रेष्ठ, श्रीमती प्रमिला पौडेल, श्रीमती अन्जु खोतेजा, श्री विकास श्रेष्ठ र श्री भरत सुनुवारलाई प्रशिक्षित गर्ने छन्।

त्यस प्रकारको प्रयोगशाला नेकमा वि. सं. २०५१ मा स्थापना गरिएकोमा विश्वविद्यालयको पाठ्यक्रमबाट हटे पछि कलेजले पनि विस्तारै ती प्रयोगशाला बन्द गरेको थियो। तर अहिलेको परिमार्जित पाठ्यक्रममा ती सिपहरूलाई महत्व दिइएकोले कलेजले प्रयोगशाला पुनः स्थापना गरेको हो।

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रयोगशालाबाट कलेजमा स्नातक तहमा सञ्चालित सिभिल, सिभिल एण्ड रूरल तथा आर्किटेक्चरका विद्यार्थीहरू लाभान्वित हुने विस्वास व्यक्त गरेका छन्।