ताजा अपडेट

ट्रेन्डिङ

नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

Gyan Khabar

ज्ञानखबर संवाददाता

५ जेठ २०८०, शुक्रबार
199 पटक हेरिएको
नेकमा दुई दिने शिक्षक तालिम प्रारम्भ

गैर नाफ मुलक सामाजिक शैक्षिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० सालमा दर्ता भई चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) को नियमित शैक्षिक गुणस्तर उन्नयन प्रकृया अन्तरगत आज देखि दुई दिने शिक्षक तालिम कार्यक्रम ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठना (स्टाफ कलेज)मा प्रारम्भ भएको छ।

कार्यक्रमको सुरुवात नेक र काठमाडौ विश्वविद्यालय बीच सम्झौता पत्र आदानप्रदानबाट भएको थियो। शिक्षक तालिमको मूल उद्देष्य कलेजका शिक्षकहरूलाई निरन्तर र व्यवसायिक शिक्षा अन्तरगत प्रभावकारी शैक्षिक अभ्यास तथा मूल्याङ्कन रणनीतिहरूमा दक्ष बनाउनु रहेको जानकारी प्राप्त भएको छ। कार्यक्रमको पहिलो दिन पेडागोजिको मुद्दाहरू, प्रयोगात्मक शिक्षा र परियोजना-आधारित शिक्षामा जोड दिइएको थियो।

कार्यक्रममा भाग लिएका कलेजका स्नातक र स्नातकोत्तर तहका शिक्षकहरूले शिक्षण विधिमा कसरी विद्यार्थी सहभागित बढाउने भन्ने विषयमा सीप आर्जन गरेको महसुस गरेको बताए। तालिमको दोस्रो दिन पाठ्यक्रम अद्यावधिक गर्ने, विद्यार्थीहरूसँगको सञ्चार, सक्रिय सिकाइ र विद्यार्थी मूल्याङ्कनमा जोड दिइने तथा ती सीपहरू प्रयोग गर्न सामग्रीहरू तयार पारिने छ।

त्यसै गरी इन्जिनियरिङका विद्यार्थीहरूमा समालोचनात्मक सोचको विकास कसरी गर्ने र शिक्षकमाथिको निर्भरता कम गरी विद्यार्थीहरूमा सक्रिय सिकाइ कसरी गर्न लगाउने भन्ने विषयमा पनि जोड दिइने छ। नेपाल इन्जिनियरिङ कलेजको आफ्नै स्रोतमा आयोजित यस कार्यक्रमलाई काठमाडौ विश्वविद्यालयको स्कुल अफ एजुकेसनको प्राविधिक सहयोग प्राप्त भएको कुरा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए।

कार्यक्रमको संयोजन कलेजको अन्तरराष्ट्रिय कार्यक्रम अधिकारी उपप्राध्यापक कृष्ण विक्रम शाहले गर्नुभएको थियो।