मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चागुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा समेत सञ्चालित नेपाल इन्जिनियरिङ कलेज उच्च प्राविधिक शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट रहेको देखिन्छ। दुई दिन अगाडि पनि नेपाल इन्जिनियरिङ परिषद्ले कलेजले लामो समय देखि पाइरहेको स्थाई स्वीकृतिलाई निरन्तरता दिएको थियो।
यस कलेजले नेपालमै पहिलो पटक विक्रम सम्बत २०५६ सालमा पोखरा विश्वविद्यालयको सम्बन्धनमा निर्माण व्यवस्थापन विधामा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरे देखि यो कार्यक्रम देशभरमै इन्जिनियरिङका स्नातकोत्तर विद्यार्थीहरू माझ अतिनै लोकप्रिय रहेकोछ। यस वर्ष पनि कलेजको निर्माण व्यवस्थापन कार्यक्रममा भर्ना हुन निवेदन दिने विद्यार्थीहरूको संख्या स्वीकृत सिट संख्या भन्दा चार गुणा भन्दा बढि रहेको कार्यक्रम संयोजक उपप्राध्यापक डा. दिनेश सुकमनिले जनाए। यहि कलेजबाट निर्माण व्यवस्थापनमा दिक्षत भई देश भित्र र बाहिर विशिष्ट सेवा दिइरहेका इन्जिनियरिहरूको संख्या अहिले सम्ममा लगभग पाँच सय नाघिसकेको जानकारी कलेजका प्राचार्य तथा पेशागत इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले दिए।
निर्माण व्यवस्थापन कार्यक्रमको लोकप्रियताको एउटा कारण विद्यार्थीहरूलाई दिइने सिपमूलक तालिमहरू हो। कलेजले हरेक वर्ष निशुल्क रूपमा इच्छुक विद्यार्थीहरूलाई निर्माण व्यवस्थापनमा उपयोगी प्रिमाभेरा नामक सफ्टवेरको तालिम दिने गरेको छ। यो सफ्टवेरमा दिक्षित भएका इन्जिनियरहरूको माग नेपालमा मात्र नभई विदेशमा पनि उच्च छ।
कलेजबाट नियमित पढाई सक्ने वित्तिकै बजारमा सेवा दिन विद्यार्थीहरूलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्ष पनि प्रिमाभेरा सफ्टवेरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज धिमिरेको नेतृत्वमा हालै सम्पन्न गरेको छ। कम्तिमा सत्तरी प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिम कार्यक्रममा यस वर्ष एक्काइस जना प्रशिक्षार्थीहरू दिक्षित भएका छन्।
कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा आज आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा. तुसिता चाँदनी शाहिले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आफुले प्राप्त गरेको सिपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न सुझाए। विज्ञ इन्जिनियर सरोज धिमिरेले प्रिमाभेरा सफ्टवेर निर्माण क्षेत्रमा मात्र नभई अरूखालका आयोजनामा पनि प्रयोग हुने जनाए।
आज दिक्षित विद्यार्थीहरूले तालिमबाट आफुले आर्जन गरेको सिपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने र त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो समारात्मक गति लिने अभिव्यक्ति दिएका थिए।