नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानबाट उनी निर्वाचित भएका हुन् । कुल चार सय ६७ मतदातामध्ये भट्टराईले २३८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी इक्यानका पूर्वअध्यक्षसमेत रहेका विष्णुहरि पाण्डेले १४६ मत पाए ।
इक्यानको महासचिवमा हालका महासचिव दिपकराज भुसाल नै निर्वाचित भएका छन् । शेषराज समूहबाट निर्वाचन लडेका उनले २५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत पाएका छन् । उनी विष्णुहरिको प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए ।
त्यस्तै, तीन जना उपाध्यक्षहरूमा लक्ष्मण पौडेल २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित भएका छन् । सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।
कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिएका छन् ।
कुल १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको थियो । इक्यानले चुनावलाई प्रविधिमैत्री बनाउनको लागि विद्युतीय भोटिङ प्रविधिको प्रयोग गरेको र चुनाव सकिएको एक घण्टामै नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ ।