काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्न सम्झौता भएको छ ।
यही २०८० सालदेखि २०८४ सालसम्म काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयका गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा काभ्रेपलान्चोकको बनेपामा कार्यालय रहेको शब्दयात्रा प्रकाशन र काठमाडौँको चाबहिल शान्तिगोरेटो निवासी शेखरप्रसाद ढुङ्गानाका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा हरि मञ्जुश्री र शेखरप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार शेखरप्रसाद ढुङ्गानाले शब्दयात्रा प्रकाशनलाई छात्रवृत्तिको रकम उपलब्ध गराउनेछ र उक्त रकमबाट शब्दयात्रा प्रकाशनले आफ्नै कार्यविधि अनुसार काभ्रेपलान्चोक जिल्लाका विभिन्न विद्यालयका गरिब तथा जेहेन्दार १० जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराउनेछ । शेखरप्रसाद ढुङ्गानाद्वारा पितामाताको सम्मानमा व्यवस्थापित यस छात्रवृत्तिको नाउँ ‘शब्दयात्रा दिव्यवती – कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ राखिने भएको छ । यसअघि शब्दयात्रा प्रकाशनमार्फत ३ जनालाई छात्रवृत्ति दिइरहेको हुँदा अब शब्दयात्रा प्रकाशनमार्फत छात्रवृत्ति पाउनेहरू १३ जना हुनेछन् ।