ताजा अपडेट

ट्रेन्डिङ

भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, कार्तिक १, २०८०
301 पटक हेरिएको
भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको भूकम्प इन्जिनियरिङ तथा विपद्पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रम बुधबार कलेजको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले असोज महिनामा मात्र दुईवटा अन्तर्राष्ट्रिय सम्मेलनहरु सम्पन्न गरिसकेको बताउँदै सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्मेलनले नयाँ नयाँ ज्ञान र अनुभव दिनुका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बन्ध विस्तार गर्न समेत टेवा पुर्याउने बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यका साथ सोको लागि आवश्यक पूर्वाधारहरु निर्माण गरिरहेको बताउनुभयो ।

नेपालका विद्यार्थीहरु अहिले १२ कक्षा उत्तीर्ण हुनासाथ विदेशिने क्रम तीव्र रुपमा बढिरहेको बताउँदै उहाँले सरकारको गलत शिक्षा नीतिका कारण नेपाली युवा विद्यार्थीहरु विदेशिन बाध्य भएको बताउनुभयो । प्रमुख प्रजापतिले विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापक स्वयम् म्यानपावर कम्पनीसँग मिलेर, विद्यार्थीसँग कमिसन खाएर विद्यार्थीहरुलाई विदेश पठाउन क्रियाशील रहेको यथार्थ प्रस्तुत गर्दै देश युवा विहीन हुने अवस्था गइरहेको बताउनुभयो ।

त्यस्तै ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भूकम्प इन्जिनियरिङसम्बन्धी ख्वपका विद्यार्थी र विदेशी विद्यार्थीहरुबीच अनुभव आदानप्रदान र नयाँ ज्ञान हासिल गर्न अन्तर्राष्ट्रिय सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सम्मेलनका सहभागी र प्रस्तुतकर्ता तथा मुख्य वक्ताहरुमा धन्यवादज्ञापन गर्नुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सम्मेलनका विषयहरु नेपालको सन्दर्भमा निकै समयसान्दर्भिक रहेको बताउँदै भूकम्पसम्बन्धी अनुसन्धान र क्षतिन्युनीकरणमा समेत सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य सुवेगमान बिजुक्छेँ र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले सम्मेलन आयोजना गर्नुको उद्देश्य, सम्मेलनका उपलब्धीबारे प्रष्ट पार्दै कलेजको आयोजनामा आगामी दिनहरुमा पनि समयसान्दर्भिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामा जोड दिँदै जाने बताउनुभयो ।

उक्त कार्यक्रममा सम्मेलनका स्टेरिङ कमिटिका सचिव मन्जिप शाक्य र विदेशी सहभागीले सम्मेलनको उपयोगिता र अनुभवबारे प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा शिक्षक नवराज बुढाथोकीले पनि बोल्नुभएको थियो ।