ताजा अपडेट

ट्रेन्डिङ

उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका

Gyan Khabar

ज्ञानखबर

२५ कार्तिक २०८०, शनिवार
173 पटक हेरिएको
उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका

रमेश ढुङ्गेल

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइडराइ पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न आउँदा र फर्किंदा माथिबाट पहिरोसहित ढुङ्गा खस्छ कि भन्ने डर छ ।

ज्यान जोखिममा राखेर उनीजस्ता बालबालिका उज्यालो भविश्य खोजिरहेका छन् । पहिरोका कारण स्थानीय ठिङ्केपु विद्यालयमा पढ्न आउने रियासँगै खिनमाया, आईश्वरी, अर्निताजस्ता धेरै बालबालिका जोखिम पार गरेर पढ्न आउन बाध्य छन् । भविष्यलाई उज्यालो बनाउन उनीहरु जस्ता धेरै बालबालिकाले सङ्घर्ष गरिरहेका छन् ।

पहिरोकै कारण विद्यालयमा आउने विद्यार्थी कम भइसकेका विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले बताए । “यो पहिरो जानुअघि तीन सय ५० भन्दाबढी विद्यार्थी थिए । अहिले घटेर ७५ पुगेका छन् । हिँउद र वर्षा दुवै समयमा आउने पहिरोका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

हिजोआज पनि विद्यार्थीहरू डराइडराई विद्यालयमा आइपुग्छन् । सर आज ढुङ्गा खसेन नी भनेर खुसी हुन्छन्”, उनले भने, “वर्षाको बेलामा ल्याउने र पुर्याउने गर्नुपर्छ । पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नुपर्छ । ठूलै झरी परे विद्यार्थी आउने सम्भावना नै हुँदैन ।”

ज्यान जोखिममा राखेर नानीबाबुहरू आउँछन् । मानसिकरूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै ? सुवेदीले दुःखेसो पोखे । “यो त दोस्रो घ्याप्चेभन्दा पनि फरक पर्दैन । त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर दैनिकी बनाएको छ”, उनले भने ।

मन्थली नगरपालिका र लिखु तामाकोसी गाँउपालिकाको सिमानामा पर्ने ध्याप्चे पहिरोका कारण सालुको गैराथोक कठजोरको अर्चलेका धेरै स्थानीय विस्थापित भइसकेका छन् । सदरमुकाम मन्थली र आसपाका धेरै खेतीयोग्य जमिनलाई नस्ट पारेको घ्याप्चेको पहिरोलाई जिल्लाको ठूलो पहिराका रुपमा लिइन्छ ।

सानो पानी परे पनि पहिरो खस्ने र हिउँदमा सुख्खा पहिरो खसेर बाटो माथिबाट ढुङ्गा झर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार सुनुवारले बताए । “पानी परयो कि पहिरो झरिहाल्छ । पहिरो कतिबेला आएर के गर्ने हो पत्तो हुँदैन । अर्कोबाटो भएर घुमेर आउ नानीबाबु भन्न पनि कतै बाटो छैन”, उनले भने, “पहिरो झरेको फेदीमा झेलुङ्गे पुलको योजना पर्यो भन्ने सुनिन्छ तर पुल तरेर आउदा र जाँदा बालबालिकालाई निकै उकालो ओरालो हिँड्नुपर्छ ।”

भुजीको पहिरो रोकिनेभन्दा पनि जोखिम बढाउँदै गइरहेको छ । विसं २०७२ को भूकम्पदेखि सुरु भएको उक्त पहिरो त्यस वर्षको वर्षातको समयदेखि बढ्दै गएको स्थानीय भीमबहादुर नेवारले बताए । “निरन्तर पहिरो झर्ने भएकाले जोखिम बढ्दै गएको छ । विद्यालय जाने र आउने बालबालिकालाई निकै समस्या छ”, उनले भने, “जोखिमका कारण वर्षाद्को समयमा बालबालिकालाई वडाको व्यवस्थापनमा वडा कार्यालयमा राखेर पढउने गरिन्छ ।”

पहिरोका कारण भुजीको ठिङ्केपुु पीपलडाँडा, सारीटोल, कोकर्सी गाउँको नेवारी, सुनुवार र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भइसकेका उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले जानकारी दिए । उनका अनुसार पीपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारसहित दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।

भूर्गविद्लाई यससम्बन्धी गहिरिएर अध्ययन गराई समस्याको समाधान गर्नुपर्ने भन्दै समयमा नै समस्या समाधान नभए थप जोखिम बढ्ने कार्यपालिका सदस्य सुनुवारले बताए । “सरकारले यस ठाउँको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन । रुना, ठिङ्केपु, पीपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना पर्नुका साथै पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रू १० लाखको योजना परेको छ । तर यो मात्र पर्याप्त छैन”, उनले भने ।

उक्त पहिरोको जोखिमका कारण वर्षाद्का समयमा भुजीस्थित पोल्दिममा भएको स्वास्थ्यचौकीमा र वडा कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या पनि घटेको स्थानीय दशराम सुनुवारले जानकारी दिए । “पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर अरु स्थानीयलाई समेत समस्या परेको छ । ओल्लोपाटोका नागरिकलाई किनमेलका लागिसमेत समस्या छ”, उनले भने, “दैनिक उपभोग्य सामान खरिदका लागि पहिरो कटेर जानुपर्ने बाध्यता छ ।”

पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । “हामीले अहिलेलाई त्यहीँ पहिरोको बीचबाट बाटो खोलेका छौँ । तर त्यहाँबाट आवतजावत गर्न जोखिम छ”, उनले भने, “हरेक वर्ष बाटो खोल्छौँ । वर्षा लागेपछि बाटो सरेर झण्डै एक सय मिटरभन्दा तल पुगेको हुन्छ । त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौँ ।”

पुल निर्माणका लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गइसकेको अध्यक्ष सुनुवारले जानकारी दिए । यो प्रक्रियागत काम भएकाले छिट्टै पुल बनाउने काम सुरु हुने उनको भनाइ थियो । पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउनेछन् ।