ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौँ विश्वविद्यालयका एक हजार आठ सय विद्यार्थी दीक्षित हुँदै

Gyan Khabar

ज्ञानखबर

२५ मङ्सिर २०८०, सोमबार
240 पटक हेरिएको
काठमाडौँ विश्वविद्यालयका एक हजार आठ सय विद्यार्थी दीक्षित हुँदै

धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय(KU) को २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार आठ सय विद्यार्थी दीक्षित हुने भएका छन् । बुधवार हुने २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका एक हजार ८३८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनका अनुसार पहिलो चरणको दीक्षान्त समारोहमा विभिन्न स्कुलका साथै साइन्स विधाका पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना र स्नातक तहका १ हजार ४१६ जना दीक्षित हुनेछन् ।

यस वर्षको दीक्षान्त समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर्स अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत मास्टर्स अफ साइन्स इन मिडवाइफी नर्सिङमा आठ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत मास्टर्स इन हाइएर एजुकेशनमा नौ जनालाई उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

हालसम्म विश्वविद्यालयबाट ४३ हजार १२३ विद्यार्थी उत्तीर्ण भएका छन् । दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्यता र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति अशोक कुमार राई र माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको उपस्थिति रहने विश्वविद्यालयले जनाएको छ ।

पहिलो चरणको दीक्षान्त समारोहमा सनम ढकालले भाइस चान्सलर स्वर्ढा पदक, विनायक घिमिरेले जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक, अङ्कित सुवेदीले रणबहादुर शाह स्वर्ण पदक, संस्कृति श्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र सौगाल बास्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।