ताजा अपडेट

ट्रेन्डिङ

स्रोत शिक्षक परिचालन गर्दै काठमाडौँ महानगरपालिका

Gyan Khabar

ज्ञानखबर

२६ मङ्सिर २०८०, मङ्गलबार
166 पटक हेरिएको
स्रोत शिक्षक परिचालन गर्दै काठमाडौँ महानगरपालिका

सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा गुणस्तर उकास्न काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक परिचालन गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षकलाई खुला प्रतिस्पर्धाबाट छानेर स्रोत शिक्षकका रूपमा विद्यालयमा पठाउन लागेको हो । जसका लागि महानगरले ११ जना स्रोत शिक्षक छनोट गरिसकेको छ ।

स्रोत शिक्षकका लागि गणित विषयका लागि तीन जना तथा नेपाली, अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयका लागि दुई दुई जना छनोट भएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताउनुभयो । हाल महानगरपालिकाभित्र ११ स्रोत केन्द्र छन् । हरेक केन्द्रमा एक जनाको दरले स्रोत शिक्षक पठाइने छ ।

ती शिक्षक विषयगत रूपमा छनोट गरिए पनि आफ्नो क्षेत्र अन्तर्गतका विद्यालयको समग्र शैक्षिक अवस्था मूल्याङ्कन गरी सुधारका लागि भूमिका निर्वाह गर्नुपर्ने छ । महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय छन् ।

स्रोत शिक्षकलाई विद्यालयमा शिक्षण सिकाइका लागि शिक्षकलाई प्राविधिक सहयोग र क्षमता अभिवृद्धि गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने, नगर शिक्षा योजना, विद्यालय सुधार योजना र सामाजिक परीक्षण कार्यमा सव्रिmय रहने जिम्मेवारी स्रोत शिक्षक व्यवस्थापन कार्यविधि–२०८० मा तोकिएको छ । त्यस्तै यस्ता शिक्षक आफ्नो क्षेत्र अन्तर्गतको हरेक विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको बैठकमा वर्षमा कम्तीमा दुई पटक उपस्थित भएर पर्यवेक्षकका रूपमा सल्लाह तथा सुझाव दिने, विद्यालयको स्तरीकरण, विद्यार्थीका नतिजा तथा सिकाइ उपलब्धिको विश्लेषण गर्नेलगायतका जिम्मेवारी पनि तोकिएको छ ।

स्रोत शिक्षकले हरेक महिना कम्तीमा १० वटा विद्यालयको सुपरिवेक्षण गरी शिक्षा अधिकारीसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ । स्रोत शिक्षकले साबिक कार्यरत शिक्षक पदमा खाइपाइ आएको तलब र भत्ता पाउने छन् । अतिरिक्त सुविधा दिने विषयमा हाल कुनै निर्णय नभएको महानगरपालिकाले जनाएको छ । यस विषयमा कार्यविधिले पनि केही उल्लेख गरेको छैन ।

स्रोत शिक्षकका लागि छनोट भएका शिक्षकसँग एक वर्षको सम्झौता हुने छ । हरेक वर्ष सम्झौता नवीकरण हुने छ भने अधिकतम पाँच वर्ष उनीहरू स्रोत शिक्षकका रूपमा रहन पाउने छन् । पाँच वर्षपछि भने स्रोत शिक्षक पुरानै दरबन्दीमा फर्कने छन् ।

छानिएका शिक्षक स्रोत केन्द्रमा गएपछि उनले पढाइरहेको विद्यालयमा काठमाडौँ महानगरपालिकाले शिक्षक सेवा आयोग परीक्षामा अनुत्तीर्ण भएका तर मेरिट लिस्टमा रहेका शिक्षकलाई अस्थायी रूपमा पठाउने छ । तर त्यस्ता शिक्षक नआउँदासम्म भने स्रोत शिक्षकका रूपमा छानिएकालाई नै पढाउने व्यवस्था गरिने कामपाका शिक्षा अधिकारी कोइरालाले बताउनुभयो ।

-सूर्यप्रसाद पाण्डे