ताजा अपडेट

ट्रेन्डिङ

सामुदायिक विद्यालयका विद्यार्थीको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

Gyan Khabar

ज्ञानखबर

सोम, माघ १, २०८०
361 पटक हेरिएको
सामुदायिक विद्यालयका विद्यार्थीको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ ।

पालिकाको १४ औँ नगर सभाले पालिका भित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने प्रस्ताव अनुमोदन गरेको हो । सभाले यससम्बन्धी कार्यविधि तयार गर्ने र वडा कार्यालयको सिफारिसमा निःशुल्क स्वास्थ्य बिमा गर्ने गरी निर्णय गरेको नगरप्रमुख देव बहादुर खाँण (ईश्वर)ले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीलाई आकर्षण बढाउन निःशुल्क स्वास्थ्य बिमाको अवधारणा अघि बढाएको प्रमुख खाँणको भनाइ छ ।

नगरपालिकाभित्र रहेका १६ माविसहित ४५ वटै सामुदायिक विद्यालयमा यस्तो नीति लागू गरिने पालिकाले जनाएको छ । जसबाट विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यहरूलाई फाइदा पुग्ने छ ।

पालिकाले सामुदायिक विद्यालयका सबै विद्यार्थी र तिनका परिवारका लागि स्वास्थ्य बिमा निःशुल्क गर्ने योजना बनाएको थियो । नगर सभामा भएको छलफलका आधारमा तत्कालका लागि निश्चित समूहका विद्यार्थीका परिवारका लागि यो व्यवस्था गर्न लागिएको पालिकाले जनाएको छ । (राधाकृष्ण डुम्रे)