भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ भाटेढिकुरस्थित मदरल्याण्ड इङ्गलिस स्कुलले विद्यार्थीको रुचिलाई उजागर गरी उनीहरूको क्षमतालाई थप परिष्कृत गर्ने उद्देश्यले मिस एण्ड मास्टर लिटल स्टार सिजन १ आयोजना गर्ने भएको छ ।
आइतवार आयोजित पत्रकार सम्मेलनमा बालबालिकाको सुन्दरता प्रतियोगिताबारे धेरैको नकारात्मक धारणा रहेको जानकारी दिँदै सो चिर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ ।
बाहिरी रूप र सुन्दरताभन्दा बालबालिकाको व्यक्तित्व, सकारात्मक सोच, समुचित प्रतिस्पर्धी भावनाको विकासमा जोड दिएको र उनीहरू कति आत्मनिर्भर हुन्छन् भन्नेमा पनि ध्यान दिएको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।
उनले प्रतियोगितामा व्यक्तित्व र बौद्धिक विकासलाई ध्यान दिएर सोहीअनुसार निर्णायकहरूको व्यवस्था गरिने बताए । उनका अनुसार शैक्षिक क्षेत्रका ३ र अन्य क्षेत्रका एक एक गरी पाँच जना निर्णायकले दिने अंकको आधारमा विजेता घोषणा गरिनेछ ।
प्रिन्सिपल खड्काले रुचि र इच्छाशक्ति भएका बालबालिकालाई उनीहरूका अभिभावकहरूको अभिरुचि तथा सहमतिपछि मात्रै प्रतियोगितामा छनोट गरिएको बताए । प्रारम्भिक चरणमा ७६ जना विद्यार्थीले नाम दर्ता गराए पनि ४५ जना मात्रै क्लोज क्याम्पको लागि छानिएको उनले बताए ।
प्रतियोगिताको लागि ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र क्लोज क्याम्पमा छन् । क्लोज क्याम्पपछि यही फागुन ४ गते ग्रायण्ड फिनाले हुने स्कुलका प्रिन्सिपल खड्काले जानकारी दिए ।