ताजा अपडेट

ट्रेन्डिङ

हेलम्बुमा २ दिने साहित्यिक यात्रा सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१० फाल्गुण २०८०, बिहिबार
262 पटक हेरिएको
हेलम्बुमा २ दिने साहित्यिक यात्रा सम्पन्न

‘पर्यटनका लागि साहित्य’ भन्ने नारा सहित आन्तरिक पर्यटन र साहित्यलाई एकसाथ अभिवृद्धि गर्ने अभिप्रायले काठमाण्डौ बाट आमन्त्रित गरिएकाएक एक दर्जन साहित्यकार पत्रकार तथा लेखकहरुको समुपस्थितिमा हेलम्बु ६ घोप्टेघ्याङ स्थित हेलम्बु बोधिसत्व मोडल स्कुलमा आयोजित विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि हेलम्बु गा.पा. अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले राज्यले संविधानमा व्यवस्थित गरिएको नि:शुल्क शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारलाई सम्मान गर्नुपर्ने बताउँदै पर्यटनका निम्ति साहित्य’ नारा अन्तर्गत हेलम्बु आई साहित्यिक कार्यक्रम संयोजन गरेका साहित्यकार, स्थानीय विद्यार्थी तथा शिक्षकलाई सम्बोधन गर्दै उनले आफ्नो गाउँपालिकामा १२ कक्षासम्मको शिक्षा र स्वास्थ्य नि:शुल्क भएको सगर्व उद्घोष गरे ।

अध्यक्ष शेर्पाले हेलम्बु गाऊँ पालिकाको ५७%बजेट शिक्षा र स्वास्थ्यमा मात्र लगानी गरिरहेको उल्लेख गर्दै कुनैबेला हिन्दुका लागि पण्डित र बुद्धिस्टका लागि समेत आयात गर्नुपर्ने बिकराल परिस्थितिलाई मध्यनजर गरी संस्कृत,सम्भोटा लगायतको भाषाकक्षा समेत संचालन गरी संस्कार र संस्कृतिको समेत संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । कुनै बेला बर्थिङ सेन्टरमा वार्षिक चार जना मात्र आएको दर्दनाक चित्र प्रस्तुत गर्दै उनले अहिले दुई सयभन्दा बेसीले प्रसूति सेवा लिइरहेको आँकडा उल्लेख गरे । ६० किमि लामो ग्रेटट्रेल बनाई पर्यटक आकर्षित गर्ने योजनालाई मूर्त रुप दिएका उनले दीर्घरोगी स्थानीयबासीलाई नि:शुल्क औषधिलगायत अनेकानेक सुविधा उपलब्ध गराएको बताए । एक प्रसङ्गमा राज्यले विश्वव्यापी तापक्रम वृद्धिलाई बडो गम्भीर ढङ्गले लिएर ठोस हरहिसाबका साथ विश्व समुदायमाझ पेस भई क्षतिपूर्ति दाबी गर्नुपर्ने जिकिर गरे ।

राजधानीबाट आमन्त्रित साहित्यकारहरू आरएम डङ्गोल, डा. बिन्दु शर्मा, राजेन्द्रमान डङ्गोल, स्नेह सायमी, लक्ष्मी माली, माधव घिमिरे ‘अटल’, जयराम बिडारी, लक्ष्मी रूम्बा, प्रभा बरालले आआफ्ना सिर्जना पस्किए ।

प्रा.डा.ऋषिराम शर्मा, केशव पुडासैनी ‘बिमल’, कुमारी लामा र राजकुमार बानियाँले साहित्य र पर्यटनबारे आआफ्ना भनाइ राखे । ‘अबको हेलम्बु कस्तो हेलम्बु ?’ भन्नेबारे उनीहरूले आआफ्ना कोणबाट प्रस्ट्याए । स्नेह सायमीले हेलम्बुको पानीको अधिकार र अबको विकासको बाटोबारे आफ्नो अभिमत राखे । सिर्जना वाचनको बीचबीचमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक जगत् ठकुल्लाले सुदूरपश्चिममा अत्यन्त लोकप्रिय देउडा गीत सुरिलो स्वरमा गाएका थिए ।

कार्यक्रममा कुमारी लामा, स्नेह सायमी, राजेन्द्रमान डङ्गोल र माधव घिमिरे ‘अटल’ विद्यालयलाई पुस्तकहरू हस्तान्तरण पनि गरेका थिए । अध्यक्ष शेर्पाले आमन्त्रित साहित्यकारहरूका हेलम्बुका विषयमा लेखिएका सिर्जना समेटेर निकट भविष्यमा एउटा पुस्तक प्रकाशित गर्ने वाचा समेत गरे ।

सो कार्यक्रमको आकर्षक सहजीकरण शिक्षक यमबहादुर ज्योतिले गरेका थिए भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक केशव पनेरूले गरेका थिए ।

साहित्यकारहरुको टोलीले दोस्रो दिन हेलम्बु गा.पा.वडा नम्बर १ ढुङ्दिङ्ग स्थित सामुदायिक भवन रहेको चौरमा महायानी बुद्ध धर्मावलम्बीहरुको सेजु (कसैकसैले छ्योजु) समेत भन्दछन् ,पूजा मेला अवलोकन गरी चाडपर्व मेला अनि संस्कृतिलाई नजिकबाट नियाल्ने ,बुझ्ने अनि अध्ययन गर्ने अवसरको रुपमा समेत उपयोग गरेका थिए । ह्योल्मो जाति समूदायमा मनाइने सोनाम ल्होसार शुरु भएको नवौं दिन तोर्मा ( सातुको पिठोलाई घ्यू मा मुछेर बनाइएको ) तथा सगून राखेर ईस्टदेवलाई आह्वान गर्ने,दशौं दिन सामूहिक रुपमा लामा नाच्ने र एघारौ दिनमा अभिषेक लिएर मेला पूर्ण गरिने कुरा स्थानीय नीमा दोर्जे लामाले बताए ।

उक्त मेला सामूहिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष फरक-फरक गाऊँ टोलमा आयोजना गरिने तथा सामूहिक लामानाचमा भाग लिन नाम टिपाएर समयमा सहभागी हुन नसक्ने सदस्यले जरिवाना समेत तिर्नुपर्ने कुरा समेत स्पष्ट पारेका थिए । सोही प्रचलन अनुसार गतवर्ष चिनिंयाखर्क, यस वर्ष ढुङ्दिङ्मा र अर्को वर्षको मेला रिभरमा संचालन गरिने कुरा समेत बताएका छन् । सेंजु पूजामा सहभागीता तथा अवलोकन गर्न त्यहाँ पुगेका साहित्यकार लेखकहरुको समूहलाई स्थानीयवासीले स्थानीय स्तरमा उपलब्ध स्वादिष्ट अर्ग्यानिक खाना खुवाएर न्यानो आतिथ्यता प्रकट गरेका थिए ।कार्यक्रम पश्चात लेखकहरुको टोली मेलम्ची खानेपानी आयोजनाको ड्यामको अवलेकन भ्रमण गरि काठमाण्डौ फर्किएको थियो ।

-जयराम बिडारी