ताजा अपडेट

ट्रेन्डिङ

काठमाडौँ महानगर २३ वडाका १८ सम्पदा संरचनामा क्युआर कोड

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र २२, २०८०
179 पटक हेरिएको
काठमाडौँ महानगर २३ वडाका १८ सम्पदा संरचनामा क्युआर कोड

काठमाडौ महानगरपालिकाको वडा नम्बर २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ ।

सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो । 

कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गरेकी हुन् । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यस्को मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ । 

क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ । 

कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो ।  क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ । 

क्युआर कोडमा प्राप्त हुने विवरण पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु बासुकलाको अध्ययनमा आधारित छन् । वडा २३ मा भएका सम्पदामध्ये सबैभन्दा प्राचीन संरचना सिखमु (अहिलेको बोलीचाली) हो ।

यसको प्राचीन नाम श्रीखण्ड तरुमुल महाविहार हो । काठमाडौँ मण्डपसँग साइनो देखिने भएकोले यसको निर्माण काष्ठमण्डपसँगै (७ औँ शताव्दीमा) हुन सक्छ । यसको एकिन तथ्याङ्क पाइएको छैन ।