ताजा अपडेट

ट्रेन्डिङ

पाठ योजना निर्माण तथा शैक्षणिक ज्ञान सम्बन्धमा शिक्षक सेवा प्रवेश तालिम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

६ ब‌ैशाख २०८१, बिहिबार
271 पटक हेरिएको
पाठ योजना निर्माण तथा शैक्षणिक ज्ञान सम्बन्धमा शिक्षक सेवा प्रवेश तालिम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नपाको आयोजनामा भएको ४ दिने शिक्षक सेवा प्रवेश तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सेवा प्रवेश गर्ने शिक्षकहरुलाई आफ्नो योग्यता अनुसारको काम गरेमा भक्तपुरको शैक्षिक उन्नयनमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।

भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक परिचयमाथि प्रकाश पार्नु हुँदै वहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुकै जगका आधारमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिरहेको बताए । भनपाबाट सञ्चालित ख्वप ई. कलेजबाट वर्षको ४३२ जना इन्जिनियरहरु उत्पादन गरिरहेको जानकारी दिए ।

स्थानीय तहलाई संविधानमै व्यवस्था गरिएको स्थानीय पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्न पाउने अधिकारीलाई प्रयोग गरी भनपाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्क्रयम निर्माण गरी नगरका ९२ वटै विद्यालयहरुमा अध्ययन अध्यापन भइरहेको जानकारी दिनु हुँदै वहाँले गरिब जनतालाई सहज, सुलभ ढंगले स्वास्थ्य सेवा प्रदान गर्न १०० शैयाको ख्वप अस्पतालमार्फत सेवा प्रवाह भइरहेको तथा नगरबासीहरुलाई निःशुल्क अक्सीजन र रगतको व्यवस्था गरिरहेको जानकारी दिए । “इज्जत र प्रतिष्ठाको लागि काम गर्नेहरुले हचुवाको भरमा काम गर्दैनन्, गहिराइमा पुगेर काम गर्छन्” उनले भने ।

कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले “शिक्षा सेवा नव–प्रवेशीहरुलाई मार्गदर्शन”, प्राध्यापक डा. गणेश बहादुर सिंले “त्रिविका शैक्षणिक अनुसन्धान तथा तालिम क्रियाकलाप”, भनपा वडा नं. ५ का वडाध्यक्ष एवं विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान विजुक्छेंले “भनपाद्वारा साँस्कृतिक, वातावरणीय र खेलकुद जागरणका क्रियाकलापहरुको आयोजना तथा स्कूलहरुको सहभागिता”, उपप्राध्यापक राजेन्द्र श्रेष्ठले “स्थानीय पाठ्यक्रम र ख्वपको पहिचान” तथा शिक्षा शाखा प्रमुख साधुराम फुया“लले “शिक्षा ऐन र अन्य कार्यविधि” विषयमा प्रशिक्षण दिएका थिए ।

शिक्षक सेवा आयोगवाट सिफारिश भइ भक्तपुर नगरपालिकामा नियुक्त भएका प्राथमिक तहका ४६ जना शिक्षकहरुलाई गत चैत ३० गते भक्तपुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा पदस्थापन गरी-हाजिरी गराई भक्तपुरको स्थानीय पर्वबिदाका दिनहरुमा तालिम प्रदान गरिएको थियो । नवनियुक्त शिक्षकहरुलाई भोलि बैशाख ८ गतेदेखि कक्षाकोठामा पठाउने भएको छ।