ताजा अपडेट

ट्रेन्डिङ

पुरुष र पुरुषत्वसम्बन्धि स्रोत केन्द्रको उद्घाटन

Gyan Khabar

ज्ञानखबर संवाददाता

७ ब‌ैशाख २०८१, शुक्रबार
106 पटक हेरिएको
पुरुष र पुरुषत्वसम्बन्धि स्रोत केन्द्रको उद्घाटन

‘नारीवादको मान्यता र नारीवादी भन्ने शब्दावली पनि स्टिरियोटाइपकै कारण सीमित भएको छ झैं मलाई लाग्छ ।’‘पुरुषप्रधान समाजको संरचना तथा वैचारिकी नारीका निम्ति त हानिकारक छँदैछ नै, यो पुरुषको निम्ति पनि ठिक छैन ।’

माथिका हरफहरु हामी दाजुभाइ नामक संस्थाले आफ्नो कार्यालय, ज्वागलमा यही हप्ता पुरुष र पुरुषत्वसम्बन्धि स्रोत केन्द्रको उद्घाटन गर्ने क्रममा संस्थाका अध्यक्ष सञ्जोग ठकुरी र उपाध्यक्ष पुजा श्रेष्ठले वाचन गरेका ‘महिलावाद’ र ‘अपरजित अपराजिता’ नामक पुस्तकका अंश हुन् । वैशाख महिनाको पहिलो हप्ता आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर सो केन्द्रको उद्घाटन गरिएको हो ।

नेपालमा महिलावाद र लैगिंंक अध्ययन शुरु गर्ने मध्यकी एक प्रा. डा. बिन्दु पोख्रेल, त्रि. वि.लैंगिक अध्ययन विभागका प्रमुख सुदिप नकर्मी र ललितपुर महानगरपालिका, सामुदायिक शाखाकी प्रमुख सरिता महर्जनद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको सो स्रोत केन्द्रले नेपालमा पुरुष र पुरुषत्वसम्बन्धि अध्ययनका लागि भएको पाठ्य सामाग्रीको अभावलाई केही हदसम्म भएपनि न्युनीकरण गर्ने विश्वास लिइएको छ ।

उद्घाटनका क्रममा नकर्मीले पुरुषहरु माहिलावादी हुने मात्रै होइन कि एक असल र उदाहरणीय पुरुष बन्न पनि सक्छन् भन्ने विचार व्यक्त गरेका थिए । त्यस्तै प्रा. डा .पोख्रेलले महिलावाद र लैंगिक अध्ययन महिलाले मात्र पढ्ने होइन कि पुरुषहरुले नै पढ्नु पर्ने विषय भएकोेले आफूहरुले यो विषयको अध्ययन र अध्यापनलाई नेपालमा शुरुवात गरेको र त्यो विषय सुरुमा अध्ययनका लागि पद्म कन्या क्याम्पसमा व्यवस्था मिलाइएको र त्यहाँ पुरुषहरुलाई अध्ययनको अनुमति नभएकोले डिल्लीबजारमा भाडामै भएपनि स्थान व्यवस्था गरेर सुरुवात गरेको स्मरण गरे ।

त्यस्तै अर्की वक्ता महर्जनले समाजमा महिलामाथि हुने हिंसा दुव्र्यवहार अन्त्यका लागि पुरुषहरु नै अग्रसर हुनुपर्ने, महिलावादलाई बुझ्नुपर्ने र त्यसको लागि महानगरपालिकाले हामी दाजुभाइसँग मिलेर कलेजहरुमा विमेन क्लब गठन गरी यो विषयमा बुझ्ने र बुझाउने कार्यको थालनी चार वर्ष अगाडि नै गरिसकेको र त्यसको निरन्तरता अव स्कुलहरुमा पनि गर्नका लागि बजेट विनियोजनसमेत गरिसकेको कुरा व्यक्त गरे ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्षले संस्था स्थापना गर्नुको कारण र पाँचौ वर्षमा प्रवेश गरिरहँदाका आरोह अवरोहबारे स्मरण गरेका थिए भने संस्थाका उपाध्यक्ष श्रेष्ठले स्रोत केन्द्र स्थापना गर्नुको उपदेयतामाथि प्रकाश पारे । कार्यक्रममा महानगरपालिका, महिला विकास शाखाका सोनु खड्का, सस्थाका कार्यसमिति सदस्य सुलभ गिरी, लैंगिक अध्ययनका विद्यार्थीहरु लगायत विभिन्न अभियन्ताहरुको उपस्थिति रहेको थियो ।