अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल एडभेन्चर, पञ्चमाने, तारकेश्वर-३, काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नजिक रहेको सो स्थानले विद्यार्थीहरूका लागि प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र साहसिक अवसरहरूको मिश्रण प्रदान गरेको थियो।
विद्यालयको वार्षिक कार्यतलिकानुसार यस साहसिकता, सिकाइ र मनोरञ्जनको मेल रहेको कार्यक्रम चिया ब्रेक र न्यानो स्वागतसँगै सुरु भएको थियो । शिक्षक बेबिश देशमरूले सञ्चालन गरेको अभिमुखीकरण क्लासमा सहभागीहरूलाई समूहमा विभाजन गरिएको थियो । कार्यक्रम संयोजक मनिता नेपालले क्याम्प नियमहरू प्रस्तुत गर्दै सहभागीहरूको अनुभवलाई सहज र रमणीय बनाउने प्रयास गरे ।
विद्यार्थीहरूले जिप-लाइनिङ, ट्रीटप एडभेन्चर र वाल क्लाइम्बिङजस्ता धेरै रोमाञ्चक गतिविधिहरूमा अनुभवी साहसिक गाइडहरूको निर्देशनमा भाग लिए । त्यस्तै शिक्षक कृषला बयालकोटीद्वारा ‘नेतृत्व र व्यक्तित्व विकास’ विषयमा र कार्यक्रम संयोजकद्वारा ‘ व्यक्तिगत विकास र चेतनशील ‘ विषयमा लिइएको शैक्षिक सत्रले विद्यार्थीहरूको सिकाइ अनुभवलाई अझ समृद्ध बनाएको साथै शिक्षक रेनुका श्रेष्ठले आयोजना गरेको रमाइला खेलहरूले क्याम्पलाई अझ रोचक बनाएको थियो ।
पहिलो दिनको प्रमुख आकर्षण क्याम्पफायर सेसन थियो, जहाँ विद्यार्थीहरूले आफ्ना अनुभवहरू व्यक्त गर्दै गीत, नृत्य र रमाइला कथाहरू साटासाट गरे। साँझको स्वादिष्ट खानासँगै पहिलो दिनको कार्यक्रम समाप्त भएको थियो। सहभागीहरूले परम्परागत शैलीका घरहरूमा रात बिताए, जसले उनीहरूलाई न्यानो र आरामदायी वातावरण प्रदान गरेको थियो।
दोस्रो दिन बिहान प्रार्थना र वनको शान्त वातावरणमा ध्यानबाट सुरु गरी शिवपुरी राष्ट्रिय निकुञ्ज, तारकेश्वर महादेव मन्दिर, पाँचमाने भञ्ज्याङ र भुवनेश्वरी मन्दिरको कुशल गाइडको सहयोगमा पैदलयात्रा गरिएको थियो । यात्राले विद्यार्थीहरूलाई त्यस क्षेत्रको जैविक विविधता र सांस्कृतिक सम्पदाको जानकारी गराएको बताएको छ।
पैदलयात्राबाट फर्किएपछि, विद्यार्थीहरूले परम्परागत सिकाइ र पशुपालनको अनुभव गरे। उनीहरूले ढीकी, जाँतो, ठेकी र मदानीजस्ता कृषि औजारहरूको अध्ययन गर्दै नेपालको परम्परागत अभ्यास र संस्कृतिबारे गहिरो ज्ञान हासिल गरे।
क्याम्प समापन समारोहमा विद्यार्थीहरूले सिर्जनात्मक लोगो र फेस पेन्टिङ प्रस्तुत गरे। विद्यालयकी प्रशासक इन्दु दुवालले प्रमाणपत्र वितरण गरिन् भने उत्कृष्ट सहभागीहरूलाई विशेष उपाधिहरू प्रदान गरेका थिए । जसअन्तर्गत ग्लेसियर गार्जियन: आरुष हुमागाईं, फ्रोस्ट एक्सप्लोरर: सुर्चभ भुजु, स्पिरिट अफ एडभेन्चर: नामकेल तामाङ, क्याम्पफायर हिरो: डलिशा महत, चिल च्याम्पियन्स: रिमेश थापा मगर, विन्टर वारियर: देभम दुवाल, स्नो सर्वाइभर: निरुपा श्रेष्ठ, सर्वश्रेष्ठ सहभागी: ईशाना राजलवोटलाई प्रदान गरिएको थयो ।
सहभागी शिक्षक तथा शिक्षिकाहरूलाई माया चिनो प्रदान गर्दै कार्यक्रमका संयोजक मनिता नेपालले सबै सहभागीहरू, शिक्षकहरू, र बन जंगल एडभेन्चरको सहयोगी टोलीलाई धन्यवाद दिए । क्याम्पका सहभागी विद्यार्थीहरु, पुनम श्रेष्ठ र निशिला भुजुका अनुसार क्याम्पमा सोचेको भन्दा अधिक मज्जा र अनुभव पाएको उनीहरूले बताए ।

विन्टर क्याम्प २०८१ पूर्णरूपमा सफल भएको थियो । यसले विद्यार्थीहरूलाई अविस्मरणीय सम्झना, निखारिएका सीपहरू, र आपसी सहकार्यको भावना प्रदान गर्दै, अक्सफोर्ड प्राक्टिकल स्कूलको अनुभवजन्य शिक्षालाई प्राथमिकता दिने उद्देश्यलाई बलियो बनाएको थियो ।
