सरस्वती बहुमुखी क्याम्पसले नेभिगेटिङ वर्कशप आयोजना गर्दै यस वर्षका सहभागीहरूलाई मार्गदर्शन गर्ने र उनीहरूलाई अगाडि बढ्न उत्प्रेरित गर्ने अवसर प्रदान गरेको छ ।
वर्कशपका प्रमुख वक्ता गत वर्षका विजेता जयसिंह सरङ्कोटी मगरले आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै सफलताका आरोह–अवरोह, सामना गर्नुपर्ने चुनौतीहरू, र आवश्यक रणनीतिहरूबारे मार्गदर्शन दिए ।
कार्यक्रममा जयसिंह सरङ्कोटी मगरले हल्ट प्राइज प्रतियोगिताको अन्तर्राष्ट्रिय चरणमा पुग्नुपर्ने तयारी र प्रक्रियाहरूबारे आफ्ना अनुभव बताउँदै उनले नैरोबी, केन्याको स्ट्राथमोर युनिभर्सिटीमा हुने अन्तर्राष्ट्रिय हल्ट प्राइज चरणबारे विस्तृत जानकारी दिए । हल्ट प्राइजका पूर्व विद्यार्थी लीलाधर कोइरालाले ठूलो प्रतियोगिता सञ्चालन गर्दा आउन सक्ने विभिन्न चरणहरूबारे मार्गदर्शन गरे भने निश्चल खत्रीले हल्का रमाइलो शैलीमा तनाव कम गर्ने उपाय र सहज रूपमा चुनौतीहरू सामना गर्ने तरिकाबारे व्याख्या गरे।
त्यस्तै सञ्जु थापामगरले क्याम्पस स्तरीय प्रतियोगिता जितेपछि अर्को चरणका लागि तयारी गर्ने रणनीतिहरूबारे प्रकाश पारे । उनले दीर्घकालीनरूपमा आफ्ना लक्ष्यहरू पूरा गर्न आवश्यक स्थिरता, प्रतिबद्धता, र निरन्तर प्रयास बारे जानकारी दिए।

कार्यक्रम अत्यन्त अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको थियो, जसमा सहभागीहरूले प्रश्न सोध्ने, सल्लाह लिने, र आफ्नो लक्ष्यबारे छलफल गर्ने अवसर पाए । धेरै सहभागीहरूले नयाँ ऊर्जा, आत्मविश्वास, र मार्गदर्शन पाएको अनुभूति व्यक्त गरेका थिए ।
