जनप्रिय बहुमुखी क्याम्पस, पोखरा-८ मा फेब्रुअरी महिनामा हल्ट प्राइज प्रतियोगिता आयोजना हुँदैछ। क्याम्पसका निर्देशक परिवर्तन शर्माको नेतृत्वमा हुने यस कार्यक्रमले विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलता र नवप्रवर्तनमा प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
माघ २० गते आयोजित अभिमुखीकरण कार्यक्रममा ८० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो, जसले विद्यार्थीहरूको उत्साह र प्रतिबद्धता दर्शाउँछ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा हल्ट प्राइज नेपालका पूर्व उप-देश संयोजक किशोर पनेरु र हल्ट प्राइजका पूर्व क्याम्पस निर्देशक सुवास तामाङले आफ्नो अनुभव र ज्ञान साझा गरेका थिए ।
त्यसैगरी, माघ २४ गते गण्डकी प्रदेशका को-अर्डिनेटर रिभ्याम्प नेपालका आशिष लामिछानेले हल्ट प्राइज जनप्रिय बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका लागि दर्ता भएका विद्यार्थीहरूलाई Idea Generation, Business Model Canvas and Presentation skills session सम्बन्धी प्रशिक्षण गरेका थिए। कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Oncampus Finale फेब्रुअरी महिनामा आयोजना हुनेछ, जसमा सहभागी टोलीहरूले आफ्नो नविन विचारहरू प्रस्तुत गर्नेछन् । उत्कृष्ट विचार प्रस्तुत गर्ने टोलीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिनेछ, जसमा सफल भएमा उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विचार प्रस्तुत गर्न सक्नेछन् ।
हल्ट प्राइजले विद्यार्थीहरूलाई उद्यमशीलता र नवप्रवर्तनमा संलग्न गराई समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दछ । जनप्रिय बहुमुखी क्याम्पसका निर्देशक परिवर्तन शर्माले भने, “हाम्रो क्याम्पसले यस कार्यक्रममार्फत विद्यार्थीहरूको सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न निरन्तर प्रयास गरिरहेको छ।”

