ताजा अपडेट

ट्रेन्डिङ

प्रारम्भिक बालविकास शिक्षक तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १९, २०८१
1590 पटक हेरिएको
प्रारम्भिक बालविकास शिक्षक तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

काठमाडौँ महानगरपालिकाले युनिसेफ नेपाल र सेतोगुराँस राष्ट्रिय बाल विकास सेवासँगको सहकार्यमा ३० जना प्रारम्भिक बालविकास शिक्षक तथा प्रशिक्षकका लागि ८ दिने ‘प्रशिक्षक प्रशिक्षण’ सफलतापूर्वक सम्पन्न गरेको छ।

प्रशिक्षणमा १५ जना बालविकास शिक्षक र १५ जना प्रशिक्षकलाई नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तर्जुमा गरेको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षणमा प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ का व्यवस्थाहरू, विषयवस्तु छनोट र योजना, दैनिक कार्यतालिका, प्रारम्भिक बालविकास केन्द्रको न्यूनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड जस्ता विषयहरू समेटिएका थिए।

सो तालिमको मुख्य उद्देश्य प्रारम्भिक बाल विकास केन्द्र र ५ वर्षका बालबालिका (४८ देखि ६० महिनासम्म) मा हुनुपर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न बालबालिकाको स्तर पहिचान तथा उपचारात्मक रणनीतिहरू विकास गर्नु थियो । यस अन्तर्गत सहभागीहरूले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरूलाई दैनिक कार्यतालिकामा आधारित रहेर सूक्ष्म शिक्षण समेत गरेका थिए ।

तालिम समापनका अवसरमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगरपालिकाले प्रारम्भिक बाल विकासमा केन्द्रित च्याम्पियन विकास गर्न खोजेको बताउँदै उनले अभिभावकको मायामा हुर्केका बालबालिकालाई विद्यालयको वातावरणमा घुलमिल गराउन विशेष सीप आवश्यक पर्ने र महानगरपालिकाले बालबालिकाको रुचि बुझेर घुलमिल गराउन सक्ने शिक्षक उत्पादनमा लगानी गरेको बताए । साथै, महानगरपालिकाले शिक्षामा पूर्वाधार, शैक्षिक सामग्री, मानव पुँजी विकास र सुशासन, व्यवस्थापन तथा दिगोपनाका लागि लगानी बढाउँदै लगेको र महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रलाई समान मापदण्डका आधारमा सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।

शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले शिक्षकहरूलाई सूचना र ज्ञान भए पनि त्यसको प्रयोग भएको छ कि छैन भन्ने मुख्य सवाल रहेको र महानगरपालिकाले यसको अनुगमन गर्ने बताए ।

युनिसेफ नेपालका प्रारम्भिक बाल विकास विशेषज्ञ डा. दिपु शाक्यले काठमाडौँ महानगरपालिकाको शिक्षा नीतिलाई प्रशंसा गर्दै यसका अभ्यासहरू अन्य स्थानीय तहका लागि अनुकरणीय बन्न सक्ने बताए । प्रशिक्षकहरूले निजी क्षेत्रका विद्यालयहरूलाई पनि समावेश गरेर सँगै लैजानुपर्ने सुझाव दिएका थिए।

FB IMG 1740981997960

प्रशिक्षणमा सहभागी सामुदायिक विद्यालयका शिक्षकहरूले सिकेका कुराहरू कार्यान्वयन गर्न अरूको सहयोग आवश्यक पर्ने भएकोले सरोकारवालाहरूलाई पनि प्रशिक्षण दिनुपर्ने धारणा राखेका थिए। उनीहरूले यो प्रशिक्षणले साना बालबालिकालाई दण्डित गरेको र युकेजीको संरचना अनावश्यक रहेको बुझेको बताए। अभिभावकहरूबाट गृहकार्य सम्बन्धी आउने गुनासोहरूलाई सम्बोधन गर्न अभिभावक शिक्षा र सचेतनाका कार्यक्रमहरू चलाउनुपर्ने आवश्यकता उनीहरूले औंल्याए।

FB IMG 1740982045151

महानगरपालिकाले ४ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (ईसीसीडी), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (ईसीईडी) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई ईसीईडीको अवधारणा अनुसार बालमैत्री शिक्षा कार्यान्वयन गर्ने नीति लिएको छ।