सृजनानगरस्थित युरो स्कूलले चौथो ‘युरो एक्स्पो २०८१’ भव्यताका साथ सम्पन्न गरेको छ। विद्यार्थीहरूले वर्षभरि सिकेका ज्ञान, सीप र अनुभवहरूलाई अभिभावक र शिक्षकहरू समक्ष प्रदर्शन गरेका थिए।
एक्स्पोमा विद्यार्थीहरूले अचार बनाउनेदेखि विज्ञान प्रविधिसम्मका विभिन्न परियोजनाहरू प्रस्तुत गरे। हावाबाट चल्ने कार, फोहोर पानी फिल्टर गर्ने विधि, थ्रीडी प्रिन्टिङ, एनिमेसन, संगीत, र अन्य सिर्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो।
युरो स्कूलका संस्थापक अध्यक्ष नवराज काफ्लेले विद्यार्थीहरूले वर्षभरि सिकेका कुराहरू अभिभावकहरूलाई देखाउनुको महत्त्वमा जोड दिए। उनले भने, “हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान पनि दिनु हो।”

विद्यालयकी प्रधानाध्यापक सम्झना गिरीले विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयको ध्यान केन्द्रित रहेको बताइन्। अभिभावकहरूले पनि आफ्ना बच्चाहरूले युरो स्कूलबाट धेरै कुराहरू सिकेकोमा सन्तुष्टि व्यक्त गरे।

प्ले ग्रुपदेखि कक्षा ६ सम्म पठनपाठन भइरहेको युरो स्कूलमा ३०० भन्दा बढी विद्यार्थीहरू छन्। विद्यालयले आगामी वैशाखदेखि कक्षा ७ सम्म विस्तार गर्ने र भविष्यमा कक्षा १२ सम्म पठनपाठन गर्ने योजना बनाएको छ। एक्स्पोले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।


