लोक सेवा आयोग, काठमाडौंले राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा, लेखा समूहमा पदसंख्या संशोधनसहित दरखास्त आव्हान तथा प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवातर्फ परीक्षा कार्यक्रम निर्धारण pscगरेको छ ।
सम्मानित उच्च अदालत पाटनबाट रिट नं. ०८१-WO-११९३, ०८१-WO-१२३५ र ०८१-WO-१२९९ का सम्बन्धमा जारी भएका आदेश कार्यान्वयनको सिलसिलामा आयोगबाट पूर्व स्थगित गरिएका संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गतका नेपाल प्रशासन सेवा, लेखा समूहमा पदसंख्या थप सहित दरखास्त आव्हान र प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाका रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम निर्धारण गर्ने गरी आयोगबाट २०८१ फागुन १९ मा निर्णय भएको जनाएको छ ।
नेपाल प्रशासन सेवा, लेखा समूहको हकमा साविक माग पदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट थप माग प्राप्त भएको ४७ थप पदसंख्या निर्धारण गरिएको छ ।
साथै नेपाल प्रशासन सेवा, लेखापरीक्षण सेवा एवं संसद सेवाका पदको हकमा देहायबमोजिम परीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवातर्फः संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम अन्तर्गत प्रथम पत्र प्रशासनिक अभिरुची परीक्षणको २०८१ फागुन ३० गते तथा द्वितीय, तृतीय र चतुर्थ पत्रको परीक्षा २०८२ जेठ २२, २३ र २४ गते निर्धारण गरेको छ ।
नेपाल परराष्ट्र सेवाको हकमा सम्मानित सर्वोच्च अदालतबाट रिट नं. ०८१-WO- ७५२ मा भएको अन्तरिम आदेश बमोजिम सम्मानित अदालतबाट रिटको टुङ्गो लागेका बखत सोही बमोजिम हुने गरी हाललाई सम्पूर्ण परीक्षा कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
