काठमाडौं महानगरपालिकामा विपन्न र वेवारिसेका लागि निःशुल्क उपचार कार्यक्रम सुरु भएको छ। यो कार्यक्रम अन्तर्गत एक वर्षमा १५५ जना विपन्न र वेवारिसेले निःशुल्क उपचार पाएका छन्। जसमध्ये २६ जनाको शल्यक्रिया भएको छ।
महानगरपालिकाले ‘अस्पतालमा निःशुल्क उपचार गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेपछि यो कार्यक्रम कार्यान्वयनमा आएको हो। कार्यविधि कार्यान्वयनका लागि महानगरपालिकाले ५२ वटा निजी अस्पतालसँग सहकार्य गरेको छ। यी अस्पतालहरूमा निःशुल्क उपचारका लागि ३७४ शय्या उपलब्ध छन्।
यो कार्यक्रमबाट आकस्मिक सेवा, फेमिली मेडिसिन, आँखा, नाक, कान, नशा, क्यान्सर, दम, क्षयरोग, शल्यक्रिया, स्त्री तथा प्रसूति रोग र पेट सम्बन्धी सेवाहरू उपलब्ध छन्। सबैभन्दा धेरै ३५ जनाले फेमिली मेडिसिन र २६ जनाले शल्यक्रिया सेवा लिएका छन्।
३२ वटा अस्पतालबाट यो सेवा प्रदान गरिएको छ। अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालले २९ जना, काठमाडौं मेडिकल कलेजले १७ जना, काठमाडौं मोडेल अस्पतालले १४ जना र नेपाल आँखा अस्पतालले १२ जनालाई सेवा दिएका छन्।
शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले पैसा नहुने र पहुँच नभएका विपन्न र वेवारिसेका लागि थप सहयोग आवश्यक रहेको बताएका छन्।