साइनिङ इङ्ग्लिस सेकेन्डरी स्कूलमा आज विद्यार्थीहरूको बेल्ट टेस्ट (बेल्ट ग्रेडिङ) कार्यक्रम चैत्र ९ गते शनिबारका दिन सम्पन्न भएको छ। नेपाल क्योकुशिन-सेइशिन काइकान कराँते-डोका केन्द्रीय प्रमुख शिहान अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको कराँतेप्रतिको लगनशीलता र प्रतिभालाई उजागर गरेको छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुहुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिहान अशोक कुमार श्रेष्ठले ‘खेल स्वास्थ्यका लागि, खेल राष्ट्रका लागि’ भन्ने नारालाई आत्मसात् गर्दै बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खेलकुदको महत्त्वमा जोड दिए। उनले कराँतेले आत्मरक्षाका लागि पनि उपयोगी हुने बताए।
साइनिङ इङ्ग्लिस सेकेन्डरी स्कूलका कराँते प्रशिक्षक राजकुमार तामाङले खेलकुदले शरीर, मन र दिमागलाई स्वच्छ र सन्तुलित राख्ने भएकाले यसको अतुलनीय महत्त्व रहेको बताए।
विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुहुले शारीरिक व्यायामले शरीरलाई सुगठित र सशक्त बनाउने प्राकृतिक नियम रहेको बताए। उनले बालबालिकालाई खेल्न दिएमा उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रममा शिहान अशोक कुमार श्रेष्ठ, कराँते प्रशिक्षक राजकुमार तामाङ, शिक्षक-शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यालयले सबैलाई धन्यवाद ज्ञापन गरेको छ।


