ताजा अपडेट

ट्रेन्डिङ

गौर अस्पतालको फड्को: मधेश प्रदेशकै उत्कृष्ट, अब १०० बेडमा स्तरोन्नति

Gyan Khabar

ज्ञानखबर

मङ्ल, चैत्र १२, २०८१
1208 पटक हेरिएको
गौर अस्पतालको फड्को: मधेश प्रदेशकै उत्कृष्ट, अब १०० बेडमा स्तरोन्नति

मधेश प्रदेशको स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु भएको छ। आफ्नो उत्कृष्ट कार्यसम्पादनका कारण प्रदेशकै उत्कृष्ट अस्पतालको पहिचान बनाएको गौर प्रादेशिक अस्पताल अब ५० बेडबाट स्तरोन्नति भई १०० बेडको विशाल स्वास्थ्य संस्था बन्ने भएको छ। यस स्तरोन्नतिले अस्पतालको सेवा क्षमतामा उल्लेखनीय वृद्धि हुने र यस क्षेत्रका बिरामीहरूले अझ स्तरीय उपचार सेवा आफ्नै ठाउँमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

अस्पतालको बढ्दो लोकप्रियता र बिरामीहरूको चापलाई ध्यानमा राख्दै प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो ऐतिहासिक निर्णय गरेको हो। मन्त्रालयले १०० बेडको अस्पताल सञ्चालनका लागि आवश्यक अस्थायी दरबन्दी समेत स्वीकृत गरिसकेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमीले यस स्तरोन्नतिलाई गौर क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि बताएका छन्। उनले भने, “अब हाम्रो अस्पतालले पहिलेभन्दा दोब्बर बिरामीलाई सेवा दिन सक्नेछ। यसले यहाँका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ठूलो मद्दत पुग्नेछ।” उनले थप विशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मी, आधुनिक उपकरण र सुविधासम्पन्न भवनहरूको व्यवस्थापन गरिने जानकारी दिए।

मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले पनि यस स्तरोन्नतिले गौर क्षेत्रका जनतालाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्। “अब उपचारका लागि महँगो खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता धेरै हदसम्म कम हुनेछ,” उनले भने।

गौर प्रादेशिक अस्पतालले यसअघि नै मधेश प्रदेशका ६ वटा प्रादेशिक अस्पतालमध्ये ८९ प्रतिशत अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको थियो। त्यस्तै, ५० बेड क्षमताका देशभरका अस्पतालहरूमा पनि यो अस्पताल उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो। अस्पतालले प्रदान गर्ने सेवा, कर्मचारीको व्यवहार, भौतिक पूर्वाधार र बिरामीलाई दिइने सुविधा जस्ता मापदण्डमा गरिएको मूल्यांकनमा गौर अस्पताल अब्बल सावित भएको थियो।

एक समय ‘रेफरल अस्पताल’को रूपमा चिनिने गौर प्रादेशिक अस्पतालले पछिल्लो समय अध्यक्ष हासमी र डाक्टर ठाकुरको कुशल नेतृत्वमा उत्कृष्ट पहिचान बनाएको छ। अस्पतालको तथ्याङ्क अनुसार, यस आर्थिक वर्षको ७ महिनामा मात्रै ४३ हजारभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिइसकेका छन्। अब १०० बेडमा स्तरोन्नति भएपछि यस क्षेत्रका हजारौं नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने निश्चित भएको छ।