प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई अब सडकमा बसिरहनु नपर्ने बताएका छन्। फरेन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलालाई सम्बोधन गर्दै उनले जायज माग लिएर आएका शिक्षकहरूसँग सरकारले संवाद गरी उचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले भने, “जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ। जायज माग लिएर आउँदा हामी सुन्छौँ। सडकमा कसैले दुःख पाइरहनु पर्दैन। शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन। हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ।”
यसैगरी, प्रधानमन्त्री ओलीले संविधान अन्तर्गत शपथ खाएर संसदमा आएर पनि संविधान नमान्नेहरूमा इमान्दारिताको खडेरीपन देखिएको टिप्पणी गरे। उनले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको उल्लेख गर्दै राजनीतिक परिवर्तनपछि जनताले गरेको अपेक्षा अनुसार विकास र सुशासनको यात्रालाई सरकारले अगाडि बढाइरहेको बताए।
राजतन्त्रवादीहरूलाई लक्षित गर्दै उनले भने, “पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन। मलाई साथ देऊ भनिराखेका छन्।” उनले संविधानको व्यवस्था अन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिनँ भन्नु इमान्दारिताको खडेरी भएको र यसले संक्रमणकाल अझै लम्बिने देखिएको बताए।
प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउन र त्यसका केही दायित्वहरू निर्वाह गर्न लागिरहेको पनि स्पष्ट पारे। उनले नेपालको हिमालले बङ्गालको खाडीको तातो हावालाई छेक्ने र समुद्रलाई धेरै तातो हुन नदिने महत्वपूर्ण भूमिका खेलेको पनि बताए।
“हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ। विविधताका बीचमा एकता आवश्यक छ। बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनौँ,” उनले भने, “विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ।”
आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा नेपालले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा उनले जोड दिए। भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताउँदै उनले कुनै पनि छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्न नहुने र नेपाल कसैको सामरिक गठबन्धनमा नलाग्ने स्पष्ट पारे। नेपाल सधैँ शान्तिको पक्षमा रहेको उनको भनाइ थियो।
फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरूले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्ने जानकारी दिए।