मध्यपुर थिमि नगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ उल्लेखनीय सुधारका कार्यहरू अगाडि बढाएको छ। नगरपालिकाले सञ्चालन गरिरहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनमा व्यापक सुधार ल्याउनुका साथै विभिन्न जनमुखी स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
एक समय तलब दिन पनि नसक्ने अवस्थामा पुगेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आज आत्मनिर्भर बनेको छ। अस्पतालमा सेवा प्रवाहलाई चुस्त बनाउन काउन्टर थप गरिएको छ भने बिरामीहरूका लागि विभिन्न सुविधा विस्तार गरिएको छ। यसका साथै, अस्पतालमा निशुल्क स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ भने फार्मेसीमा पर्याप्त औषधि उपलब्ध गराइएको छ। औषधि खरिद प्रक्रियालाई पारदर्शी बनाउन खरिद ऐन अनुसार प्रतिस्पर्धाको माध्यमबाट खरिद गर्ने गरिएको छ। अस्पतालले थप विशेषज्ञ सेवाहरू पनि सञ्चालनमा ल्याएको छ। हालै डाईलिसिस र सिटिस्क्यान सेवा सुरु भइसकेको छ भने विशेष शल्यक्रिया कक्ष (Special OT) तयार भएको छ र सघन उपचार कक्ष (ICU) को टेण्डर प्रक्रिया अगाडि बढेको छ। अस्पतालले अब छिट्टै नै ग्यास्ट्रोलोजी, ओन्कोलोजी, कार्डियोलोजी, ओपिडी, इमर्जेन्सी सेवा, अर्थोपेडिक्स, मातृत्व, बालरोग, दन्त लगायतका धेरै विशिष्ट सेवाहरू स्तरीकरण गरी प्रदान गर्ने तयारी गरिरहेको छ।
यसैगरी, यस आर्थिक वर्षमा मध्यपुर थिमि नगरपालिकाको जनस्वास्थ्य शाखाले पनि नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै थुप्रै महत्त्वपूर्ण कामहरू सम्पन्न गरेको छ। २०८१ चैत्र २७ गतेसम्म २७३३ परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रु ३५०० का दरले प्रिमियम भुक्तानी गरिसकिएको छ। ६० वर्ष माथिका जेष्ठ नागरिक, स्वयंसेविका, एकल महिला र दलित समुदायलाई निशुल्क स्वास्थ्य बिमा सेवा उपलब्ध गराइँदै आएको छ।
निःशुल्क रगत वितरण सेवा अन्तर्गत हालसम्म ३२७ जनालाई ५४३ पिन्ट रगत वितरण गरिएको छ जसमा रु ५,२१,९३९.०० खर्च भएको छ। रक्तदान कार्यक्रममा सहभागी ४७७ जनालाई रु १०० का दरले प्रोत्साहन स्वरूप भुक्तानी गरिएको छ भने ५६५ जना सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत २०८१ कार्तिक महिनामा ६९८४ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइएको छ।
विशेष पोलियो खोप कार्यक्रम मार्फत १२३३१ जनालाई पोलियो खोप लगाइएको छ। विपन्न नागरिक औषधि उपचार सहयोग अन्तर्गत ११८ जना विपन्न नागरिकलाई प्रतिव्यक्ति रु ५००० का दरले औषधि उपचार बापतको रकम भुक्तानी गरिएको छ भने १०० जनालाई प्रतिव्यक्ति रु १००००० सम्मको सहयोगका लागि सिफारिस गरिएको छ।
नगरपालिकाले स्वास्थ्य चेतना अभिवृद्धिका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। ४४ वटा स्वास्थ्य आमा समूहलाई पुनर्गठन गरी महिला हिंसा तथा अन्य सामाजिक समस्याका विषयमा अभिमुखीकरण गरिएको छ। रोग निदान सेवा अन्तर्गत थाइराइड, प्रोस्टेट र स्तनमा गाठो भेटिएका बिरामीहरूको निःशुल्क नमुना परीक्षण गरिएको छ। १६ वटा वडाहरूमा एचपीभी खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा आयोजित निःशुल्क स्क्रिनिङ शिविरमा १०३६ जना महिलाले स्वास्थ्य परीक्षण गराएर प्रत्यक्ष लाभ लिएका छन्। जेष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक वडामा २ दिनका दरले ६० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा हालसम्म १३३१ जना जेष्ठ नागरिकले सेवा प्राप्त गरिसकेका छन्। क्यान्सर रोग सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम ९ वटा वडाहरूमा करिब ५०० जना आमा समूह र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गरिएको छ।
मध्यपुर थिमि नगरपालिकाले स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, रोग परीक्षण र निदानलाई प्राथमिकतामा राखेको छ। यसका लागि आवश्यक बजेट, पूर्वाधार र सहयोग जुटाउन नगरपालिका निरन्तर लागिरहेको छ। स्वास्थ्य क्षेत्रमा गरिएको यो प्रगतिले मध्यपुर थिमिका नागरिकहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास बढेको छ।