ताजा अपडेट

ट्रेन्डिङ

स्वास्थ्यमन्त्री पौडेलको दाबी: नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन, टिकाउन चुनौती

Gyan Khabar

ज्ञानखबर

मङ्ल, बैशाख २३, २०८२
1029 पटक हेरिएको
स्वास्थ्यमन्त्री पौडेलको दाबी: नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन, टिकाउन चुनौती

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनशक्ति उत्पादनमा समस्या नभए पनि त्यसलाई टिकाउन र काठमाडौँ बाहिर दुर्गम क्षेत्रमा पुर्‍याउन चुनौती रहेको बताए।

उनले काठमाडौँभित्र जनशक्ति भए पनि बाहिरका अस्पतालमा चिकित्सकको चरम अभाव रहेको औँल्याए। सङ्घीय अस्पतालमा नौ दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक कार्यरत रहेको तथ्याङ्क उनले प्रस्तुत गरे। मन्त्री पौडेलले जनशक्ति उत्पादन प्रक्रियालाई सहज बनाउँदै देशभित्रै टिकाउने र दुर्गममा सेवा पुर्‍याउने वातावरण बनाउनुपर्नेमा जोड दिए।

यसैगरी, मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको बिमा प्रणाली लागू भएमा नागरिकले कम खर्चमा गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरे। सरकारले सातै प्रदेशमा क्यान्सर उपचार र प्रत्यारोपण सेवा विस्तार गरिरहेको जानकारी दिँदै उनले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।

मन्त्री पौडेलले यो वर्ष वीर अस्पतालको दुवाकोटमा नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बजेट विनियोजन गरिएको जानकारी पनि दिए। नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन भए पनि विदेश पलायन रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।