विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलमा “रेडक्रस अभियानमा लागौँ, विपत्तिमा परेका मानवलाई सहयोग गरौं।” भन्ने उच्च आदर्शलाई आत्मसात गर्दै विनायक जुनियर रेडक्रस सर्कलको नयाँ कार्यसमिति चयन गरिएको छ।
विद्यालयमा यही २०८२ जेठ १३ गते मंगलबार आयोजित एक विशेष कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा प्रिन्सि प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कलको नयाँ कार्यसमिति गठन गरिएको हो। यो समितिले शैक्षिक सत्र २०८२ का लागि मानवीय सेवाका कार्यहरू अगाडि बढाउनेछ।
जुनियर रेडक्रस सर्कलका शिक्षक नायक रामचन्द्र प्रजापतिको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।
उक्त अवसरमा विद्यालय नर्स विमया तामाङको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहशिक्षक नायक सरु श्रेष्ठले गर्नुभएको थियो। यसरी “म सेवा गर्छु” भन्ने भावनाले ओतप्रोत विद्यार्थीहरूको नयाँ कार्यसमिति गठन भएसँगै विनायक जुनियर रेडक्रस सर्कलले आगामी दिनमा थप सक्रियताका साथ मानवीय सेवाका कार्यहरूमा योगदान पुर्याउने विश्वास गरिएको छ।