नेपाल तथ्याङ्कशास्त्र समाज र अर्किड कलेजको संयुक्त आयोजनामा ‘तथ्याङ्कशास्त्र र तथ्याङ्क विज्ञानको उदीयमान प्रवृत्ति र प्रयोग’ विषयक दुई दिने राष्ट्रिय गोष्ठी बिहीबारदेखि काठमाडौंको अर्किड कलेजमा साथ सुरु भएको छ।
गोष्ठीको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. शंकरप्रसाद खनालले एक्काइसौं शताब्दी तथ्याङ्कको युग भएको उद्घोष गर्दै प्रमाणमा आधारित निर्णय प्रक्रियामा तथ्याङ्क नै प्रमुख आधार हुने भएकोले हरेक क्षेत्रमा यसको अपरिहार्य भूमिका रहने विचार व्यक्त गरे। तथ्याङ्क विज्ञान अध्ययन अनुसन्धानको विशाल क्षेत्र भएको उल्लेख गर्दै डीन खनालले तथ्याङ्कीय सिद्धान्तहरूलाई सबै क्षेत्रको निर्णय प्रक्रियामा लागु गर्नुपर्नेमा जोड दिए।
अर्किड कलेजका प्रिन्सिपल विदुर दाहालले स्वागत मन्तव्य राख्दै गत वर्षदेखि राष्ट्रिय स्तरका कार्यशाला आयोजना गर्न पाउँदा कलेजले धेरै सिकेको र आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
समाजका उपाध्यक्ष सहप्राध्यापक डा. विजयलाल प्रधानले यस सम्मेलनले तथ्याङ्कशास्त्रमा अध्ययन-अध्यापन गरिरहेका प्राध्यापक, विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई समसामयिक प्रवृत्तिहरूबारे जानकारी गराउनुका साथै नयाँ ज्ञान सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उद्घाटन सत्रको मुख्य आकर्षणको रूपमा डीन प्रा.डा. खनालले ‘आधुनिक तथ्याङ्क विज्ञान र कृतिम बौद्धिकताको सन्दर्भमा तथ्याङ्कशास्त्रको भविष्य’ विषयमा आफ्नो महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरेका थिए।
देशभरबाट तथ्याङ्कशास्त्र विषयका करिब ७० प्राध्यापक, विद्यार्थी र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको सो गोष्ठीमा नयाँ कार्यविधि, सार्वजनिक स्वास्थ्य र जैविक तथ्याङ्क, वातावरणीय क्षेत्र, कृतिम बौद्धिकता, मेसिन लर्निङ, जेनएआई जस्ता विविध विषयहरूमा करिब तीन दर्जन कार्यपत्रहरू प्रस्तुत गरिने र गहन छलफल गरिने जानकारी समाजका उपाध्यक्ष सहप्रा.डा. प्रधानले दिए।
नेपाल तथ्याङ्कशास्त्र समाजका अध्यक्ष एवम् त्रिवि विज्ञान प्रविधि अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. रामप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।