विनायक इको क्लबको आयोजनामा आज विश्व धुम्रपान रहित दिवस भव्यताका साथ मनाइएको छ। यस अवसरमा विद्यालयका कक्षा ६, ७ र ८ का करिब १५० विद्यार्थी भाइबहिनीहरुको सहभागितामा जनचेतनामूलक र्यालीको आयोजना गरिएको थियो।
विद्यालय परिसरबाट सुरु भएको र्याली भुलांखेल, चोदे, सिवाटोल हुँदै बालकुमारी, दिगुली चपाचो, गुङ्गचिवा परिक्रमा गरी पुनः विद्यालयमा आएर समापन भएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरुले धुम्रपान विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उक्त र्यालीको मुख्य आकर्षण भनेको बाटोमा धुम्रपान गरिरहेका व्यक्तिहरुलाई धुम्रपानको नकारात्मक असरबारे जानकारी गराउँदै इको क्लबका सदस्य विद्यार्थीहरुले चुरोट, खैनी तथा सुर्तीजन्य पदार्थसँग चकलेट साटासाट गर्नु थियो। यसरी चकलेट दिएर उनीहरुले धुम्रपान छोडेर स्वस्थ र दीर्घायु जीवन जिउन प्रेरित गर्ने प्रयास गरेका थिए।
र्यालीको सुरुवातमा इको क्लबका अध्यक्ष चार्बी बाडे र उपाध्यक्ष आरुश श्रेष्ठले धुम्रपानको बारेमा आफ्ना विचार व्यक्त गरेका थिए। विद्यालयका इन्चार्ज शैलेन्द्र कुमार भट्टराईले धुम्रपान रहित स्वस्थ समाज आजको आवश्यकता भएको बताउँदै रिबन काटेर औपचारिक रुपमा र्यालीको उद्घाटन गरेका थिए।