ताजा अपडेट

ट्रेन्डिङ

आधारभूत विद्यालय समितिको साधारण सभा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, जेष्ठ २०, २०८२
255 पटक हेरिएको
आधारभूत विद्यालय समितिको साधारण सभा सम्पन्न

आधारभूत विद्यालय समिति भक्तपुरको २६ औं वार्षिक साधारण सभा मंगलबार भीम आदर्श आधारभूत विद्यालय, लिवालीमा सम्पन्न भएको छ।

सभामा भक्तपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले आधारभूत विद्यालय शिक्षाको जग भएकाले यसलाई बलियो बनाउन शिक्षा शाखाले महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले आधारभूत विद्यालयको विकासमा समितिको योगदानको प्रशंसा गर्दै भक्तपुरको शिक्षा क्षेत्रलाई नमुना बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले राज्यले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भने पनि व्यवहारमा लागू हुन नसकेको बताए। उनले सामुदायिक विद्यालयको विकासका लागि शिक्षकहरूले त्याग र सामूहिक भावनाका साथ काम गर्नुपर्नेमा जोड दिए।

आधारभूत विद्यालय समितिका पूर्व अध्यक्ष एवं सन्तति आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक माकले समितिले विद्यार्थी, शिक्षक र विद्यालयको हितका लागि सामूहिक प्रयास गर्दै आएको बताए। उनले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै समितिले उठाएका विषयवस्तुमा भक्तपुर नगरपालिकाको सकारात्मक सम्बोधनप्रति आभार व्यक्त गरे।

समितिका अध्यक्ष सूर्यबहादुर फोजूको अध्यक्षतामा सम्पन्न सो सभामा अध्यक्षद्वारा प्रस्तुत समितिको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विन्द्रा दुवालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरियो। सभामा समितिका उपाध्यक्ष तीथलक्ष्मी धन्छा र सचिव असलमाया बनमालाले पनि आफ्ना भनाइहरू राखेका थिए।