मध्यपुर ठिमीस्थित स्थित विनायक शिक्षा निकेतन ई. सेकेन्डरी स्कूलमा २०८२ सालको गणित क्लबको पुनर्गठन कार्यक्रम आज एक विशेष समारोहका बिच उत्साहपूर्वक सम्पन्न भएको छ। गणितप्रेमी विद्यार्थीहरूको सक्रिय सहभागिता र मार्गदर्शक शिक्षकमण्डलीको समर्पणका साथ क्लबले नयाँ चरण प्रारम्भ गरेको छ।
क्लब पुनर्गठन कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र विक्रम प्रजापतिले सम्पूर्ण टिमलाई बधाई दिँदै गणितको महत्वमाथि प्रकाश पारे। उनले भने, “गणितजस्तो विषयले विद्यार्थीको सोच्ने तरिका र जीवनप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न सक्छ। यो क्लबले भविष्यका वैज्ञानिक र विचारकहरू उत्पादन गर्ने आधार बन्नेछ।”
त्यसैगरी, गणित विषयका शिक्षक नरेन्द्र प्रजापतिले पनि नयाँ टिमलाई शुभकामना दिँदै गणितलाई केवल अंकहरूको खेलको रूपमा मात्र नभई जीवन बुझ्ने कलाको रूपमा चित्रण गरे। उनले भने, “गणित केवल अंकहरूको खेल होइन, यो त जीवन बुझ्ने कला हो। यस क्लबमार्फत विद्यार्थीहरूमा तार्किक सोच, समस्या समाधान क्षमता, र आत्मविश्वास झन् मजबुत हुनेछन्।”
कार्यक्रममा क्लबका नयाँ पदाधिकारीहरूको घोषणा गरिनुका साथै आगामी शैक्षिक सत्रका लागि विभिन्न गणितीय गतिविधिहरूको विस्तृत योजना सार्वजनिक गरिएको थियो। यस योजनामा गणित प्रतियोगिताहरू, कार्यशालाहरू, र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिनेछन्।