ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ ३०, २०८२
367 पटक हेरिएको
भक्तपुरमा उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा भएको उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण समारोह जेठ ३० गते शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा, मेयर प्रजापतिले खेलकुद र शिक्षालाई एक सिक्काको दुई पाटाको रूपमा चित्रण गर्दै आजका खेलाडी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको रूपमा विकास हुन सक्ने भएकोले अहिलेदेखि नै राम्रोसँग प्रशिक्षित गर्नुपर्नेमा जोड दिए।

मेयर प्रजापतिले खेलकुदलाई हारजितभन्दा पनि मित्रता र अनुशासनको लागि हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन सुझाव दिए।

प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले विद्यार्थीको व्यक्तित्व विकास गरी उनीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन प्याब्सनले यस प्रतियोगिताको आयोजना गरेको बताए। उनले यस प्रतियोगिताले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्नमा सहयोग पुग्ने आशा व्यक्त गरे।

कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बिजेन्द्रबहादुर हमाल, प्याब्सन भक्तपुरका उपाध्यक्ष विजय कर्माचार्य र प्याब्सन अतिरिक्त क्रियाकलाप समितिका सहसंयोजक कृष्ण कार्कीले पनि आफ्ना भनाइ राखेका थिए।

FB IMG 1749868493564

मेयर प्रजापतिले विजयी खेलाडीहरूलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए। यसै अवसरमा टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र शिवसुन्दर गोठेलाई सम्मान गरिएको थियो।

आयोजकका अनुसार यस प्रतियोगितामा ६० विद्यालयका २१० जना विद्यार्थीको सहभागिता रहेको थियो, जसले उपत्यकाव्यापी रूपमा विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

FB IMG 1749868442879