चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित “स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना” अन्तर्गत तीन दिने मनोसामाजिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।
स्वीस रेडक्रसको आर्थिक सहयोगमा होटल यचु, कमल विनायकमा असार २२ देखि २४ गतेसम्म सञ्चालित यस तालिममा चाँगुनारायण नगर अस्पताल र नगरपालिका भित्रका १० वटा स्वास्थ्य केन्द्रका गरी २४ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गराउनु थियो। यसले ज्येष्ठ नागरिकसहित सबै बिरामीको मानसिक स्वास्थ्यलाई समेत ख्याल गरी उपचार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
प्रशिक्षणमा मानसिक स्वास्थ्यको परिचय, मनोसामाजिक प्राथमिक उपचारको आवश्यकता र यसका विधिहरू (तयार गर्नुहोस्, हेर्नुहोस्, सुन्नुहोस् र लिङ्क गर्नुहोस्), गम्भीर घटना व्यवस्थापन, आत्महत्या रोकथाम तथा आत्म-हेरचाहका सुझावहरू लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको प्रशिक्षण संयोजक बालकृष्ण सेढाँइले जानकारी दिए।
समापन कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीहरूमा मनोसामाजिक परामर्श सेवा थप गरी ज्येष्ठ नागरिकहरूको सेवा सुविधा वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहेको र स्वास्थ्यकर्मीहरूले परिवर्तनको संवाहक बनी स्वस्थ समुदाय निर्माणमा लाग्नुपर्नेमा जोड दिए।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले मनोसामाजिक प्राथमिक उपचारको महत्त्वमाथि प्रकाश पार्दै रेडक्रस यस क्षेत्रमा लामो समयदेखि कार्यरत रहेको बताए।
चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई स्वस्थ, सक्रिय, सुरक्षित र मर्यादित जीवनयापन गराउने तथा नगरपालिकालाई पहिलो उमेरमैत्री नगरपालिका बनाउने लक्ष्यका साथ सन् २०२४ देखि २०२६ सम्मका लागि यो परियोजना सञ्चालन गरिरहेको छ।