ताजा अपडेट

ट्रेन्डिङ

अनन्त इङ्गलिस स्कुलमा बधाई तथा बिदाई समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, असार २७, २०८२
61 पटक हेरिएको
अनन्त इङ्गलिस स्कुलमा बधाई तथा बिदाई समारोह सम्पन्न

महालक्ष्मी नगरपालिका – ६, ललितपुर अवस्थित अनन्त इङ्गलिस स्कुलले गुरु पूर्णिमाको पावन अवसर पारेर २०८२ असार २६ गते बिहीबार एक भव्य समारोहका बीच माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा बिदाई गरेको छ।

महालक्ष्मी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री धर्म महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा एस.ई.ई.मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा विशेष गरी प्रत्येक विषयमा जीपीए ४ ल्याएका विद्यार्थीहरूलाई प्रति विषय रु. ५००/- का दरले नगद पुरस्कार प्रदान गरिएको थियो। यसैगरी, समग्रमा जीपीए ४ हासिल गरेर विद्यालयको नाम राख्न सफल छात्रा रिदिमा घिमिरेलाई रु. १०,०००/- को विशेष पुरस्कारले सम्मान गरियो। सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिनो तथा खादा ओढाएर हौसला प्रदान गरिएको थियो।

सोही समारोहमा, स्थापनाकालदेखि निरन्तर ३३ वर्षसम्म अध्यापन सेवामा समर्पित भई विद्यालयको शैक्षिक उन्नतिमा अतुलनीय योगदान पुर्‍याउने शिक्षिका श्री टिका बजगाईँलाई खादा, दोसल्ला तथा सम्मानपत्र प्रदान गरी विद्यालय परिवारले कृतज्ञता व्यक्त गर्दै भव्य बिदाई गरिएको थियो।

कार्यक्रममा एस.ई.ई.मा जीपीए ४ हासिल गरेकी छात्रा रिदिमा घिमिरे, शिक्षिका मन्दिरा घिमिरे, सेवा निवृत्त शिक्षिका टिका बजगाईँ, शिक्षक प्रेम भण्डारी, तालिम प्रशिक्षक परशुराम निरौला, वडा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य सुशान महर्जन, प्रमुख अतिथि धर्म महर्जन, प्रिन्सिपल गोपालप्रसाद घिमिरे तथा सभाका सभापति नारायण थापाले मन्तव्य राखेका थिए। वक्ताहरूले विद्यार्थीहरूको सफलताको प्रशंसा गर्दै उनीहरूको आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे भने शिक्षिका बजगाईँको त्याग र योगदानको उच्च कदर गरेका थिए।