११३ औं भानु जयन्तीको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
नगर प्रमुख प्रजापतिले साहित्य सरल र जनमुखी हुनुपर्नेमा जोड दिँदै ‘जनताको साहित्य’ आजको आवश्यकता भएको बताउँदै उनले “एकजना साहित्यकारको विचार बन्दुकको गोलीभन्दा पनि शक्तिशाली हुन्छ” भन्ने धारणा राखे।
उनले साहित्यमा समाजसेवा, देशप्रेम र परिवर्तनकारी सोच को आवश्यकता औंल्याउँदै कुनै पनि विषयमा सफलताका लागि गहन ज्ञान हासिल गर्नुपर्ने बताए।
कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यार्थीलाई साहित्य लेखनमा अभिप्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बबताउँदै किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा सक्रियताले विद्यार्थीमा लुकेका प्रतिभा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
निर्णायक सूर्यराम श्रेष्ठ र आशाकुमार चिकंबन्जारले विद्यार्थीका सिर्जनाबाट आफूहरू प्रभावित भएको बताउँदै साहित्यकार बन्न अध्ययन र व्यापक दृष्टिकोण अपरिहार्य रहेको कुरामा जोड दिए।
प्रतियोगितामा विभिन्न कक्षा समूहका विद्यार्थीहरूले पुरस्कार प्राप्त गरे। कक्षा ५ सम्म छात्रतर्फ ज्ञानविजय आविका विपन खत्री र छात्रातर्फ सूर्यविनायक स्कूलका बिहानी तामाङ प्रथम भए। साथै कक्षा ६, ७ र ८ मा छात्रतर्फ गणेश माविका असरव मुहवत र छात्रातर्फ ज्ञानविजय स्कूलका जस्मिन क्षेत्री प्रथम भए। माध्यमिक विद्यालयतर्फ गणेश माविका प्रज्ज्वल तामाङ प्रथम भए।
वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले सहभागी विद्यालय र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिहरू सञ्चालन गरिने जानकारी दिए।