ताजा अपडेट

ट्रेन्डिङ

बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा ख्वप अस्पतालको अनुगमन

Gyan Khabar

ज्ञानखबर

मङ्ल, असार ३१, २०८२
378 पटक हेरिएको
बागमती प्रदेश स्वास्थ्यमन्त्री थापाद्वारा ख्वप अस्पतालको अनुगमन

बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगरले आज २०८२ असार ३१ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शय्याको ख्वप अस्पतालको अनुगमन गरेको छ। अनुगमनका क्रममा मन्त्री थापामगरले अस्पतालको अवस्था र प्रदान भइरहेका उपचार सेवाहरूको स्थलगत निरीक्षण गर्नुका साथै सेवाग्राहीहरूसँग प्रत्यक्ष जानकारी लिए।

अनुगमनपश्चात् आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापामगरले भक्तपुर नगरपालिकालाई शिक्षा र स्वास्थ्यमा जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने देशकै नमुना नगरपालिकाको संज्ञा दिए। उनले ख्वप अस्पताल व्यवस्थित रूपमा सञ्चालन भइरहेको र यसले देशभरिका बिरामीहरूलाई सेवा पुर्‍याइरहेकोमा खुसी व्यक्त गरे।

मन्त्री थापामगरले ख्वप अस्पतालको विकास र प्रगतिका लागि प्रदेश सरकार सधैँ आवश्यक सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे। उनले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिँदै बागमती प्रदेशभित्रका अस्पतालहरू स्तरीय बन्दै जानु प्रदेश सरकारका लागि गौरवको विषय भएको बताए।

FB IMG 1752582155231

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालले नगरबासीको भावनाअनुसार कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए। उनले ख्वप अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागिरहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको व्यक्त गरे।

प्रमुख प्रजापतिले ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गरिरहेको जानकारी गराउँदै नगरपालिकाले श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए।

अनुगमनमा प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ख्वप अस्पताललाई बागमती प्रदेशअन्तर्गत स्थानीय तहले सञ्चालन गरेको नमुना अस्पतालको रूपमा रहेको भन्दै प्रशंसा गरे। उनले शिक्षा र स्वास्थ्यलाई निःशुल्क, नागरिकको सहज पहुँचमा र गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिँदै भक्तपुरले यस क्षेत्रमा गरेको काम अन्य स्थानीय तहका लागि अनुकरणीय भएको बताए।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालले स्वास्थ्य क्षेत्रमा हासिल गरेको प्रगति र सेवा प्रवाहबारे विस्तृत प्रस्तुतीकरण दिए।

मन्त्री थापामगरले ख्वप अस्पतालका विभिन्न विभागहरू जस्तै ओपिडी, अक्सिजन प्लान्ट, आकस्मिक कक्ष, नर्सिङ कलेज, छाती पुनःस्थापना केन्द्र, औषधालय, ल्याब, ख्वप तीलगंगा आँखा अस्पताल, ब्रम्हायणीस्थित अन्तरंग सेवा र आईसीयूको अवलोकन गरेका थिए।

FB IMG 1752582171224