ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा बाघचाल प्रतियोगिता सम्पन्न: विद्यार्थीमा दिमागी विकास

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन २, २०८२
487 पटक हेरिएको
भक्तपुरमा बाघचाल प्रतियोगिता सम्पन्न: विद्यार्थीमा दिमागी विकास

आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक शैक्षिक कार्ययोजना अनुसार ज्ञानविजय आधारभूत विद्यालयको संयोजनमा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा बाघचाल प्रतियोगिता सम्पन्न भएको छ।

भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले यस प्रतियोगिताले पर्यटक आगमन बढाउनुका साथै दिमागी ज्ञानलाई बलियो बनाउने अपेक्षा गर्नुभयो। ज्ञानविजय आधारभूत विद्यालयकी प्रधानाध्यापक विन्द्रा दुवालले अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकास हुने बताउनुभयो।

समितिका अध्यक्ष सूर्यबहादुर फोजूले विद्यार्थीको प्रतिभा प्रस्फुटन र शैक्षिक उपलब्धि हासिल गर्न शिक्षकहरूको लगनशीलता महत्वपूर्ण रहेको औँल्याउनुभयो। समितिले निवृत्त शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रम पनि गरिरहेको उहाँले जानकारी दिनुभयो।

20250719 112759

स्वीस लिगको आधारमा सञ्चालित उक्त प्रतियोगितामा विभिन्न वर्गका विद्यार्थीहरूले प्रतिस्पर्धा गरे। कक्षा १ देखि ३ छात्रातर्फ नवीन आविकी जुलश खातुन प्रथम भइन् भने छात्रतर्फ नवीन आविका साहिल मिया प्रथम भए। कक्षा ४/५ छात्रामा सन्तति आविकी शान्ति आलेमगरले प्रथम स्थान ओगटिन् र छात्रतर्फ बालसेवक आविका राकेश दर्लामी मगर प्रथम बने। कक्षा ६ देखि ८ का छात्रतर्फ तारा माविका श्याम तामाङ प्रथम रहे भने छात्रातर्फ नवीन आविकी आकृति तुल्सीबाख्य प्रथम भइन्।

निर्णायक ज्ञानेन्द्र खाईजूले प्रतियोगिता स्वीस लिगको आधारमा सञ्चालन भएको बताउनुभयो। यो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक विकासमा टेवा पुर्‍याएको छ।