नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षाको व्यवस्था विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्नेमा जोड दिएका छन्।
बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै महरले विद्यालय शिक्षा विधेयक देशको शैक्षिक भविष्यका लागि महत्वपूर्ण रहेको बताए।
महरले शिक्षाको गुणस्तर र विद्यार्थीको भविष्य सधैँ प्राथमिकतामा रहनुपर्ने कुरामा जोड दिए। उनले अधिकारको मात्र कुरा गर्ने प्रवृत्तिले समस्या निम्त्याएको भन्दै कर्तव्यबोधसहितको सुधार आवश्यक रहेको औंल्याए। उनले भने, ‘अधिकारको मात्र खोजी गर्दा कर्तव्यको सन्तुलन बिर्सिइन्छ, जसले गर्दा प्रणालीमा समस्या आउँछ।’
उनले गुणस्तरीय शिक्षाका लागि कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने धारणा पनि दोहोऱ्याएका छन्। यसका साथै शिक्षकलाई निजामती सरहको सेवा सुविधा, प्रधानाध्यापकको छुट्टै व्यवस्था, र भौतिक पूर्वाधार तथा तालिममा राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ।
महरले गरिब, विपन्न र कमजोर वर्गका विद्यार्थीले पनि संविधानले दिएका अधिकारको अनुभव गर्न सक्ने गरी विधेयक तयार हुनुपर्नेमा जोड दिए। कांग्रेसले कमजोर वर्गका जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अन्तर्गत आवासको व्यवस्था गर्ने विषयमा पनि छलफल गरिरहेको बुझिएको छ। शिक्षामा पहुँच र समानता सुनिश्चित गर्न यस्ता प्रावधान कानुनमा नै समावेश गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।