काठमाडौं शिक्षा क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रम आज श्रावण २८ गते उद्घाटन गरी औपचारिक रूपमा सुरु गरेको छ।
उद्घाटन सत्रको अध्यक्षता क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक प्रा.डा. हेमाङ्गराज अधिकारीको अध्यक्षतामा तथा व्यवस्थापन संकायका डिन प्रा.डा. महाानन्द चालिसेको प्रमुख आतिथ्यमा र विश्वविद्यालय अनुदान आयोग अनुसन्धान महाशाखाका निर्देशक तथा उद्यमशीलता सहयोग कार्यक्रम विज्ञ डा. निरज धितालको विशेष आतिथ्यतामा भएको हो।
कार्यक्रममा बागीश्वरी कलेज, भक्तपुरका क्याम्पस प्रमुख धनकुमार श्रेष्ठ र युवा उद्यमी निष्ठा कायस्थले उद्यमशीलताको अनुभव र चुनौतीहरू प्रस्तुत गर्दै युवालाई सकारात्मक सोच, रणनीतिक योजना र आत्मविश्वास विकासमा जोड दिएका थिए।
डा. धितालका अनुसार उद्यमशीलता सहयोग कार्यक्रम केवल डिग्री नभई व्यावहारिक सीप र आत्मनिर्भरता निर्माणको माध्यम हो। NEHEP अन्तर्गत १८ कलेजमा कार्यक्रम सञ्चालन भइरहेको छ, र बागीश्वरी कलेजले ३१ लाख ५० हजार रुपैयाँ प्राप्त गरी स्थानीय सरकार, FNCCI र सामुदायिक उद्योगसँग सहकार्य गरिरहेको छ।
प्रा.डा. चालिसेले उद्यमशीलता सहयोग कार्यक्रम सबै व्यवस्थापन कलेजमा आवश्यक रहेको बताउँदै, त्रिभुवन विश्वविद्यालयले ESP सेल स्थापना गर्ने योजना बनाएको र BBS पाठ्यक्रमलाई ३ वर्ष शैक्षिक अध्ययन तथा १ वर्ष अभ्यासमुखी तालिममा रूपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए। उनले “पैसाले मात्र उद्यमी बन्न सकिँदैन, ज्ञान, सीप र अनुभव चाहिन्छ” भन्दै स्थायित्वका लागि समयमै नतिजा, पाठ्यक्रम सुधार, ‘अर्निङ एन्ड लर्निङ’मा केन्द्रित हुनुपर्नेमा जोड दिए।

विश्लेषणका अनुसार उद्यमशीलता सहयोग कार्यक्रमले विद्यार्थीमा उद्यमशीलता प्रवर्द्धन गर्ने उच्च सम्भावना बोकेको भए पनि यसको सफलताका लागि स्रोतसाधनको निरन्तरता, स्थानीय सहकार्य र गुणस्तरीय व्यावहारिक तालिम अपरिहार्य रहने कुरामा कार्यक्रमका वक्ताले जोड दिएका थिए।