विद्या आर्जन सेकेन्डरी स्कुलमा १९ औं राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाइएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रममा प्रहरी प्रभाग जगातीकी सइ ललिता थापाले विद्यार्थीहरूलाई मानव बेचबिखनबारे जानकारी दिए।
सइ थापाले मानव बेचबिखनलाई एउटा जघन्य अपराधको रूपमा लिँदै यसलाई नियन्त्रण गर्नका लागि दिवस मनाइने गरेको बताए। गरिबीको फाइदा उठाउँदै मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारी बालबालिका तथा युवालाई भारत, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया लगायतका देशमा तस्करी गरिरहेको उहाँले जानकारी दिए।
विवाहको नाममा चीनमा समेत मानव तस्करी भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले यस्ता मानव गिरोहबाट जोगिन विद्यार्थीजस्ता युवा पुस्ता सचेत हुनुपर्नेमा जोड दिए। सइ थापाले मानव बेचबिखन र यसबाट सुरक्षित हुने उपायबारे पनि प्रकाश पार्दै कसैको प्रलोभन, प्रभाव वा धम्कीमा नपर्न र जबरजस्ती गरिएमा तुरुन्तै प्रहरी वा अभिभावकलाई खबर गर्न आग्रह गरे।
मानव बेचबिखन गर्नेलाई २० वर्ष कैद र २ लाख जरिवाना, तथा वेश्यावृत्तिमा लगाउन बेचबिखन गर्नेलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्थाबारे पनि उनले जानकारी गराए।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यार्थीहरूलाई विद्यालय तहबाटै यस्ता प्रशिक्षण दिँदा उनीहरू आफैँ बेचिनबाट जोगिने र अरुलाई पनि जोगाउन सक्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीलाई बन्द कोठामा मात्र सीमित नगरी यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।