मिति २०८२।०६।३१ गते शुक्रबार । समय बिहानको ठिक ९ ३० बजे ।
बाटोमा एक टोली विद्यार्थी बिना झोला स्कुलको लागि आउँदै गरेको देखेँ । होइन आज पञ्चकन्याका विद्यार्थी किन स्कुल व्याग नबोकी हिँडेका मैले प्रश्न गरेँ – “आज स्कुलमा मेला छ कि के हो आज विद्यालयमा “बुक फ्री डे” अर्थात “पुस्तक रहित दिवस” । म अचम्ममा पर्दै विद्यार्थीको हुललाई हेर्दै बसेँ । तर एउटा जिज्ञासाले भने मनमा डेरा जमाई हाल्यो । “विद्यालयमा पुस्तक रहित रे! यो त बजार हिँडेको मान्छेले पैसा नबोक्याजस्तो पो भो त ।”
मन थाम्न सकिनँ । घरको काम भ्याएर ११ः०० बजेतिर विद्यालय पुगेँ । वास्तवमै विद्यालयमा आज साविकभन्दा फरक माहोल देखिएको थियो । विद्यालयमा प्रवेश गर्ने बितिक्कै चामलसहितको दुईतीनवटा नाङ्लो देखेँ । अलि पर पुग्दा स-साना बाबुनानीहरु हातमा अभिभावदनका शब्दले भरिएका प्लेकार्ड बोकेर लर्कोमा उभिएका पनि देखेँ । रौनकता यतिमै सिमित भएन । मञ्चमा भरि विद्यार्थी सालको पातलाई औंलाले नचाउँदै गरेका पनि देखेँ । यता केही विद्यार्थी भने कपास लिई बत्ति काट्न व्यस्त भएको देखेँ । कोही भने जुत्तामा टुना बाँढ्न सिक्दै थिए त कोही साबुन-पानीले हात धुन सिक्दै थिए । कोही दाँत माझ्न सिक्दै थिए त कोही लुगा धुन सिक्दै थिए ।
झट्ट हेर्दा मेलाजस्तो पनि देखियो । सबैजना विद्यार्थी बडो चाखपूर्ण ढङ्गमा केही न केही सीप सिक्दै थिए । “आहा! कस्तो असल र ब्यबहारिक अभ्यास ।” अन्तर्मनले प्रशंसा नगरी बस्न सकिन ।
विद्यालयका शिक्षक- शिक्षिकाहरुले चामल निफन्ने कसरी भनी सिकाइरहेको दृष्य पनि निकै समयसान्दर्भिक देखियो । अझ शिक्षक-विद्यार्थी टपरी बुन्न सिक्दै गरेका दृष्य झन लोभलाग्दो थियो ।
एक हुल अभिभावक त “माथि नि छ है” भन्दै ब्लक सीको पहिलो तल्लामा कुडेको देखेँ । उत्सुकताले धैर्यताको बाँध फुट्यो । म पनि माथि गएँ । माथि गएर हेर्दा पो थाहा भयो माथि त “विज्ञान प्रदर्शनी” भईरहेको रहेछ । दुईवटा कक्षामा नौवटा स्टल राखी विज्ञानका विभिन्न प्रदर्शनीले सारा विद्यार्थी तथा अभिभावकलाई आकर्षण गरिरहेको थियो । प्रदर्शनीमा सहभागिता जनाएका विद्यार्थी भाइबहिनीहरु पनि सबैलाई एक-एक गरी राम्रोसँग बुझाउँदै थियो ।
साँच्चै नै एउटा फरक दिन, जुन दिन पाठ्यक्रमले समेट्न नसकेका सीपमुलक शिक्षालाई विद्यालयले स्थान दिएको रहेछ । हो, सबै विद्यार्थीले सबै किसिमका काम र सीप सिक्दै गरेका दृष्यहरु अत्यन्तै स्मरणीय थियो । अझ बोली व्यबहार, सर-सफाईका गतिविधि सिकाई झन् सह्रानीय थियो ।
जेहोस्, आज एउटा शिक्षा लिएर पञ्चकन्या स्कुलबाट फर्केँ । ” विद्यालय भनेको नियमित पठनपाठन मात्र होइन रहेछ । सीप र काम सिक्ने एउटा थलो पनि रहेछ ।” एउटा नौलो, अर्थपूर्ण र सकारात्मक प्रयासका लागि विद्यालय र विद्यालय परिवारप्रति हार्दिक आभार तथा नमन ।