ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा र संस्कृति आदानप्रदान : पञ्चकन्या माविमा जापानी टोलीको भब्य स्वागत

Gyan Khabar

ज्ञानखबर

मङ्ल, कार्तिक १८, २०८२
11 पटक हेरिएको

नेपाल र जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै भक्तपुरको श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुडाल मा आज मिति २०८२ कात्तिक १८ गते एक विशेष कार्यक्रम सम्पन्न भएको छ। जाइका (JICA) को संयोजनमा टोकियो नगरपालिका, जापानका शिक्षा शाखा प्रमुख मिता नोरिकोको नेतृत्वमा आएको एक अध्ययन टोलीलाई विद्यालयले भव्य स्वागत गरेको हो।

विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), शिक्षक-अभिभावक संघ (शि.अ.संघ), शिक्षक, कर्मचारी र विद्यार्थीले संयुक्त रूपमा टोलीलाई स्वागत गरेका थिए। वि.व्य.स.का पूर्व अध्यक्ष तथा सदस्य केशवप्रसाद तिमिल्सिना, अध्यक्ष नारायणप्रसाद घिमिरे, शि.अ.संघका अध्यक्ष राममाया रञ्जितकार तथा प्र.अ. नारायणप्रसाद दुलाल र पञ्चकन्याका नानीहरूले पुष्पगुच्छा र मालार्पण गरी अतिथिहरूको आदरसत्कार गर्नुभएको थियो।

अध्ययन टोलीको भ्रमणलाई परिचयात्मक, अन्तर्क्रियात्मक र समापन गरी तीन चरणमा विभाजन गरिएको थियो

विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमको पहिलो चरण विद्यार्थीद्वय आकाश तामाङ र सुदिना दुलालको जापानी भाषाको स्वागत मन्तव्यबाट सुरु भयो । लगत्तै टोकियो नगरपालिका, जापानका शिक्षा शाखा प्रमुख मिता नोरिकोले शैक्षिक तथा सांस्कृतिक आदानप्रदानका लागि उहाँहरु विद्यालय आएको भन्नुहुँदै उहाँले कार्यक्रमको मुख्य उद्देश्यबारे छोटोमा प्रष्ट पार्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा टोकियो नगरभित्र विभिन्न शिक्षणसंस्थामा अध्ययनरत ४० जना जापानी तथा अन्य विदेशी विद्यार्थीहरु ८ टोलीमा बाँडिएर विद्यालयका कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुसँग कक्षामा गई शैक्षिक, सांस्कृतिक आदानप्रदान गर्ने कार्य भयो । जुन आजको मुख्य सत्र थियो जहाँ विद्यालयका विद्यार्थी र उहाँहरूबीच आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित भयो ।

तेस्रो चरणका लागि विद्यार्थीहरु पुन: विद्यालय प्राङ्गणमा जम्मा भयो, जहाँ अतिथिहरुलाई धन्यबाद, बिदाई तथा कार्यक्रमको समापन गर्नु थियो । समापन समारोहको पुर्वार्धमा पञ्चकन्या नानीहरुले विद्यालयको पञ्चकन्या गानमा आकर्षक नृत्य प्रस्तुत गर्नुभयो । त्यसपछि आकर्षण नेवारी मौलिक नृत्य लाखे नाचको रहयो । लाखे बनेका विद्यार्थी आयुष रञ्जितकार तथा धिमेबादक अनिश रञ्जितकार र भुछ्याँबादक सोहन नाखनको टोली र वाद्यवादन सामग्रीका लागि ठुली ब्रह्मायणी धिमे खल:प्रति विद्यालय परिवार हार्दिक धन्यबाद प्रकट गर्दछ ।

टोकियो नगरभित्र विभिन्न शिक्षणसंस्थामा अध्ययनरत ४० जना जापानी तथा अन्य विदेशी विद्यार्थीहरुका प्रतिनिधिका रुपमा दुईजना विद्यार्थीले उहाँहरूलाई गरिएको स्वागत र सत्कारका लागि हार्दिक आभारी रहेको भन्दै खुशी व्यक्त गर्नुभयो र विद्यालयलाई उहाँहरुको तर्फबाट कोशेली प्रदान गर्नुभयो ।

विद्यालय परिवारको तर्फबाट प्र.अ. नारायणप्रसाद दुलालले जापानी टोलीलाई आदरसत्कार गर्न पाउँदा हर्षित रहेको भन्नुहुँदै उहाँले नेपाल र जापानको सम्बन्धजस्तै विद्यालय र जापानको टोकियो नगरपालिकाबीचको सम्बन्ध पनि दिगो रहने विश्वास व्यक्त गर्नुभयो र उहाँहरुको सदासयता, सद्भावका लागि धन्यबाद पनि व्यक्त गर्नुभयो  

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्र.अ. प्रकाश तजलेले गर्नुभएको थियो ।