ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा दुई दिने आँखा शिविर सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, कार्तिक १९, २०८२
98 पटक हेरिएको
विनायकमा दुई दिने आँखा शिविर सम्पन्न

स्वस्थ शरीरः स्वच्छ दिमाग भन्ने नारालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथसाथै जीवनमा उत्कृष्ट बनाउन र विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा जोड दिँदै आएको विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुल ,मध्यपुर ठिमी, भक्तपुरमा यही २०८२ कार्तिक १८ र १९ गते दुई दिने आँखा शिविर कार्यक्रमको आयोजना गरेको छ।

विद्यालयको विशेष निमन्त्रणामा बेलायत /युकेबाट आएका भोलेन्टियर्स डक्टर लुसी र एलिजाबेथको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा आँखाको सामान्य समस्या भएकादेखि जटिल समस्या भएका विद्यार्थीहरूलाई आवश्यक परामर्शका साथसाथै औषधि र चस्मा समेत वितरण गरिएको थियो।

आँखा जस्तो संवेदनशील वस्तुलाई संरक्षण गर्नुपर्दछ भन्ने उक्त शिविरको मूलभूत उद्देश्य रहेको थियो। मोबाइल र स्क्रिनका कारण आँखामा विभिन्न समस्याहरु देखा परिरहेको आजको समयलाई मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हामीलाई जानकारी गराउनुभयो आँखाको हेरचाह र सुरक्षा समयमै गर्न नसके भविष्यमा विकराल रूप लिन सक्ने र अत्यधिक स्क्रिनमा व्यस्त रहे आँखाको ज्योति गुम्न सक्ने समस्या वर्तमान विश्वको गम्भीर एवं साझा समस्या भएकोले विद्यालयले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थापनाकालदेखि नै यी यस्ता कार्यक्रमहरू गर्दै आएको कुरा समेत जानकारी गराए।

कक्षा एक देखि १० सम्म अध्ययनरत ६५० जना विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू कर्मचारीहरू एवं आवश्यक अभिभावकहरूको समेत उक्त शिविरमा आँखा परीक्षण गरिएको थियो ।विद्यालयको सामाजिक दायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको थियो ।