व्यावहारिक एवं प्रयोगात्मक ज्ञानका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा २०८२ कार्तिक २८ गते फलफुल तथा तरकारी प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ।
विद्यालयको पूर्व प्राथमिक तहका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य स्वस्थ तथा ताजा तरकारी र फलफुलका बारेमा जानकारी दिनु र त्यस्ता वस्तुहरूबारे परिचित गराउँदै विद्यार्थीहरूमा तिनको महत्त्व जगाउनु रहेको कुरा विद्यालयकी पूर्व प्रा वि इन्चार्ज शोभा प्रजापतिले जानकारी गराए।
पूर्व प्रा वि तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरु आफैले घरमा उपभोग गरिरहेका र उत्पादन गरिरहेका तरकारी तथा फलफुलहरु ल्याई प्रदर्शनीमा राखेर त्यसको परिचय ,स्वाद तथा आफूलाई मनपर्नुको कारण समेत बताएका थिए।

अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले यी कलिला मन र मस्तिष्कहरूमा कक्षा कोठाको सिकाइलाई व्यावहारिक एवं वास्तविक संसारसँग जोड्न तथा आफ्नै घर र स्थानीय स्तरमा उत्पादित एवं स्थानीय बजारमा उपलब्ध फलफुल तथा तिनका बारेमा निर्धक्क साथ बताउन पूर्व प्राथमिक तहबाटै सिकाउन आवश्यक रहेको ठहर गर्दै यी यस्ता कार्यक्रमहरूको आयोजना गरेको कुरा प्रष्ट पारे।